• २० वैशाख २०८२, शनिबार

पहुँच युक्त संरचना निर्माणमा बिशेष ध्यान : मुख्यमन्त्री आचार्य

blog

कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य ।

सन्तोष दहित

दाङ, बैशाख १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपाङ्गतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । 

राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार भएको संवादमा मुख्यमन्त्री आचार्यले सरकारले बनाउने हरेक संरचना अपाङ्गतामैत्री बनाउने काम थालिएको र पूराना संरचनालाई पनि सुधार गरेर पहुँच सुनिश्चित गरिने स्पष्ट पार्नुभयो । 

अपाङ्गता भएका व्यक्तिहरुको सवाल र मुद्दा सरकारका पनि सवाल र मुद्दा भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, सरकारले अपाङ्गता ऐन ल्याउने विषयमा गृहकार्य गरिरहेको छ र प्रक्रिया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्य, संविधानसभा सदस्य देवराज भार, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, लेखापाल महानन्द पोखरेल, अपाङ्ग अभियानकर्ता सरोजा भण्डारी लगायतको टोलीले मुख्यमन्त्री आचार्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालसँग छलफल गरेको हो । 

प्रदेशस्तरीय पुनःस्थापना केन्द्र सञ्चालनका लागि सरकारले सहयोग गर्नुपर्ने, अपाङ्गतामैत्री संरचना बन्न थाले पनि ती संरचना पहुँचयुक्त हुनुपर्ने, सांकेतिक भाषा तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने जस्ता विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देविदत्त आचार्यले जानकारी गराउनुभयो ।