• २० वैशाख २०८२, शनिबार

राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गरिने

blog

काठमाडौँ, वैशाख १९ गते । सरकारले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधारका संरचना निर्माण गरी आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने बताउनुभयो ।

नेपाली सेनाको क्षमता विकास र सङ्गठनात्मक सुदृढीकरण तथा बङ्करदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइ सकल दर्जाका सैनिकलाई क्रमशः आवास सुविधा उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय सेवा दलको कार्यक्रमलाई दुर्गम र सीमान्तकृत क्षेत्रका विद्यालयहरूसम्म विस्तारगरी राष्ट्रप्रति समर्पित, अनुशासित र वफादार युवा जनशक्तिको विकास गरिने छ । राष्ट्रिय महत्त्वका ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण र सम्वर्धन गरी स्थानीय पर्यटनलाई प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस