काठमाडौँ, वैशाख १८ गते । कोसी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।
नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा जारी प्रतियोगितामा बिहीबार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् ।
पुरुषमा कोसीले गण्डकी प्रदेशमाथि ५–३ गोलको जित निकाल्यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गर्नुभयो ।
मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काउनुभयो । लक्ष्मण प्लेअर अफ दी म्याच हुनुभयो । समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अङ्क बटुल्यो ।
चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो । पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् ।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुवात गरेको थियो । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् ।
एपिएफ हक्कीमा नयाँ टिम हो । एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँड्यो ।
बिहीबार महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हारायो । गण्डकीको जितमा मायौरी राई र गीता पुनमगरले एक एक गोल गर्नुभयो ।
मायौरी प्लेअर अफ दी म्याच हुनुभयो । महिलामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् ।