काठमाडौँ, वैशाख १८ गते । मदन भण्डारी रोड रेस च्याम्पियनसिप अन्तर्गत १० किमी पुरुष खुलामा मुकेश पाल च्याम्पियन बन्नुभएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहीबार भएको दौडमा राजन रोकाय दोस्रो र सुसिल शाही तेस्रो हुनुभयो । सोही स्पर्धाको महिलामा पूर्ण लक्ष्मी न्यौपाने पहिलो, निर्मल केसी दोस्रो र सृजना पाण्डे तेस्रो हुनुभयो । उपाधिसँगै शीर्ष तीनमा रहने खेलाडीलाई जनही क्रमश: ५०, ३० र २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
यस्तै पाँच किमी छात्रमा बादल कार्की पहिलो, कृष्ण परियार दोस्रो र अमृत विश्वकर्मा तेस्रो हुनुभयो । छात्रामा अस्मिता भुजेल पहिलो, भगवती खड्का दोस्रो र शर्मिला विके तेस्रो हुनुभयो ।
यस स्पर्धामा शीर्ष तीनमा रहनेलाई क्रमश: २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । तीन वटै विधामा शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो ।
दशरथ रङ्गशालामा भएको दौड विभिन्न स्थान हुँदै पुन: रङ्गशालामा आएर सकिएको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका अर्थमन्त्री एवं नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।