नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख १८ गते । बुधबार साँझ परेको असिना पानीले जुम्लाको स्याउमा लाखौँको क्षति गरेको छ । गुठिचौरको पुर्वि क्षेत्रमा सबैभन्दा बढि असिना पानीले क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिना पानीले स्याउमा क्षति गरेको गुठिचौर गाउँपालिका ३ दामदासे गाउँका किसान नोर्बु लामाले बताउनुभयो ।
ठुलो मात्रमा असिना पानी पर्दा स्याउका चिचिला र पात समेत झारेको उहाँको भनाइ छ । करिब २० हल जमिनमा लगाएको १५ सयमध्ये ८ सय फल्ने स्याउका बिरूवामा असिना पानीले क्षति गरेको लामाले जानकारी गराउनुभयो । कान्जिरोवा होटलका सञ्चालक समेत रहनुभएका लामा कृषि खेतिमा आबद्ध भएको चार वर्ष भयो । उहाँको करिब १० लाख जतिको स्याउमा क्षति भएको छ ।
गत वर्ष स्याउबाट आठ लाख नगद कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिना पानी पर्दा दुःखी भएको उहाँले बताउनुभयो । हिउँद भरिको दुःख असिना पानीले खतम बनाएको लामाले जानकारी गराउनुभयो । दामदासे गाउँका लामासहितका नौ घर परिवारको लाखौँ रूपियाँको स्याउमा असिना पानीले क्षति गरेको छ ।
दामदासे गाउँमा रहेका १५ वटा ठुला स्याउ बगैँचामा क्षति गरेको छ । असिनाले स्याउमा क्षति गर्दा किसान दुःखी भएको बताएका छन् । प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पात समेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिका छन् । स्याउ लगायत जौँ, गहुँ, मक्कै, भोटे जिरालगायतका बालीमा क्षति गरेको उहाँको भनाइ छ ।
गत वर्षतिर शिखर इन्सुरेन्सले स्याउमा बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यस वर्ष बिमा नगरिदा किसान मारमा परेका छन् । यस्तै गुठिचौर २ मुडरी गाउँमा असिना पानीले करिब ६० लाख जतिको स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताउनुभयो । उहाँका अनुसार, कोल्ते, गुठिगाउँ र मुडुरीगाउँ लगायतका करिब पाँच सय ५० घरधुरीले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको बताउनुभयो ।
जौँ र गहुँ बाली भित्र्याउने बेला परेको असिना पानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ । जुम्लामा चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेति भइरहेको छ । १६ हजार घरधुरर स्याउ खेतिमा निर्भर छन् । गत वर्ष जुम्लामा ६१ करोड ४१ लाख रूपियाँ स्याउबाट भित्रिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, असिनाले स्याउमा पुराएको क्षतिको विवरण प्राप्त भई नसकेको बताउनुभयो ।