• १८ वैशाख २०८२, बिहिबार

सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली नष्ट

blog

आगलागीबाट नष्ट भएको उखुबाली । तस्बिर : कल्पना खरेल

कल्पना खरेल
नवलपरासी पश्चिम, वैशाख १८ गते ।
नवलपरासी पश्चिमको सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली जलेर नष्ट भएको छ । बिहीबार बिहान सुनवल नगरपालिका २ रजहवास्थित प्रल्हाद पासीको १८ कट्ठा  क्षेत्रफलमा लगाइएको उखुबालीमध्ये करिब १० कट्ठाको उखुबालीको एक सय २० क्वइन्टल उखु जलेर नष्ट भएको हो ।

स्थानीय कृष्णबहादुर भण्डारीले सफा गरेको पोखरीको झाडीमा दिउँसो १२ बजे लगाएकोे आगो हावाले उडाएर पासीको उखुबारीमा पुर्‍याएपछि आगो अनियन्त्रित भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो ।

आगलागी भएको खबर प्राप्त हुनासाथ आफुहरू त्यहाँ पुगेर प्रहरीको टोली, दमकल र स्थानियको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

सुनवल नगरपालिकामा दमकल नभएकाले आगो निभाउन छिमेकी रामग्राम नगरपालिकाबाट दमकल ल्याइएको थियो । पासीले वार्षिक ३२ हजार तिर्ने सहमतिमा स्याङ्जाका गिरीराज पाण्डेसँग जग्गा लिजमा लिएका थिए । 

दमकम अभावमा सुनवलमा बर्सेनि आगलागीका घटनाबाट ठुलो धनजनको क्षति हुँदै आएको भन्दै तत्काल दमकल ल्याउन स्थानीयले माग गरेका छन् ।