• १८ वैशाख २०८२, बिहिबार

जसपा नेतृ यादवले पड्काएको पेस्तोल ‘नक्कली’, फरेन्सिक जाँच गरिने

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १८ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबीसिंह यादवले विवाहको हल्दी मेहन्दीमा पड्काएको पेस्तोल ‘नक्कली’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

उक्त पेस्तोल बिहीबार दिउँसो सर्लाही प्रहरीले बरामद गरेको छ। सप्तरीको बोदेबरसाइन नगरपालिका–५, घर भएकी नेतृ यादवले सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरमा आएर विवाहको हल्दी मेहन्दीमा पेस्तोल पड्काएको भिडियो बिहीबार बिहानैदेखि टिकटिक र अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। 

अन्य केही आफन्तसँग नाच्दै गर्दा यादवले पेस्तोल पड्काएको भिडियो भाइरल भएपछि उहाँलाई बिहीबार सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय राजविराजमा बोलाएर सोधपुछ गरेको छ। त्यसक्रममा यादवले उक्त पेस्तोल सर्लाहीमा आफन्तको विवाहमा आउँदा पड्काएको स्वीकार गरेपछि सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी गरायो। 

सप्तरीबाट प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दा यादवले उक्त पेस्तोल यही वैशाख ११ गते सीमावर्ती क्षेत्रस्थित मलङ्गवा नगरपालिका–५, भाडसरका वसन्त कुमारकी छोरी सुप्रिया कुमारीको हल्दी मेहन्दीमा पड्काएको स्वीकार गरेको प्रहरीले जनाएको छ। बबीसिंह यादव वसन्त कुमारको भान्जी हुन्। 

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बबीसिंह यादवले उक्त नक्कली पेस्तोलमा बारुद हालेर पड्काएको पाइएको जानकारी दिनुुभयो। सो पेस्तोल र बारुद बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले वसन्त कुमारका दाइ मलङ्गवा नगरपालिका–२, का अन्जनी तिलहरीको घरबाट बरामद गरेको छ। 

यस घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया के–कसरी अघि बढाउने भनी सरकारी वकिलसँग परामर्श गरिने डिएसपी राईले बताउनुुभएको छ। डिएसपी राईका अनुसार बरामद पेस्तोल झट्ट हेर्दा गोली हालेर पड्काउने सक्कली पेस्तोल जस्तै देखिएको र थप पुष्टीका लागि फरेन्सिक परीक्षण गर्न काठमाडौं पठाउने तयारी गरिएको छ।

नेतृ यादवले आफूले पड्काएको पेस्तोलबाट एक राउणन्ड हवाइ फायर गरी धुँवा उडेको भिडियो भाइरल भएपछि फेसबुकमा स्टाटस लेख्दै उक्त घटना भारतमा भएको दाबी गर्नुभएको थियो। उहाँले उक्त पेस्तोल खेलौना भएको यादवले दाबी गर्नुभएको छ।