• २६ वैशाख २०८१, बुधबार

श्रीमानबाटै यौन उत्पीडन

blog

महेन्द्रनगर समाचारदाता

महेन्द्रनगर (धनुषा), जेठ २५ गते । लोकलाज, सहनशीलता र करुणाका कारण श्रीमान् श्रीमतीबीचको यौन सम्बन्धका उतारचढाव सार्वजनिक चर्चाका विषय बन्दैनन् । हजुरआमा उमेर समूहकी महिला श्रीमानको यौन उत्पीडनमा परेर कानुनी उपचार खोज्ने घटना बिरलै हुन्छन् । तीमध्येका एउटा अनौठो र अत्यासलाग्दो घटना धनुषा जिल्लामा भएको छ । 

महिला पुनःस्थापना केन्द्र (आरेक)को सुरक्षित आवासमा दुई महिना बिताउनुभएकी एक ६० वर्षीया महिला आफूभन्दा करिब १५ वर्षले जेठो लोग्नेको यौन उत्पीडन खप्न नसकेपछि स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र कानुनी सहायताका लागि जनकपुरधाम आउनुभयो तर अप्राकृतिक तथा अनुचित ढङ्गले यौन सम्बन्ध कायम गर्ने उहाँका श्रीमान् र बालबच्चाको करकाप तथा आग्रहमा परेर कानुन सहायता बिना घर फर्किनुभएको छ । 

“लोग्नेले अब उपरान्त सहमति बेगर र गलत तरिकाबाट यौन सम्बन्ध नगर्ने बाचा तथा सही तरिकाले रेखदेख गर्ने एवं दुःख दिने परिस्थिति बन्न नदिने छोराहरूको भरोसाका कारण उहाँ घर फर्किनुभएको छ,” ओरेक नेपालका जिल्ला परियोजना संयोजक रोजलिन बछारले भन्नुभयो । नातिनातिना हुर्किंदै गरेका बेला वृद्ध उमेर समूहका श्रीमानले यौनाङ्गमा हात घुसार्ने, काठ पसाउनेजस्ता बर्बरतापूर्ण यौन व्यवहार देखाइरहँदासम्म ती महिला चुप लाग्नुभयो तर लोग्नेको क्रूरतापूर्ण यौन दुर्व्यवहारका कारण कानुनी उपचारका लागि उहाँ ओरेकको सुरक्षित आवासमा आश्रय लिनुभयो । 

सुन्दै आङ सिरिङ्ग हुने लोग्नेको यौन उत्पीडन रोकिने छाँटकाँट नभएपछि उहाँ गाउँका महिला समूहको सम्पर्कमा आउनुभएको थियो । त्यसपछि उहाँलाई ओरेकको सुरक्षित आवासमा ल्याइएको थियो । 

“यहाँ ल्याइएको बेला उहाँको यौनाङ्गमा चोट लागेको थियो, मानसिक रूपमा पनि कमजोर हुनुभएको थियो,” ओरेकका जिल्ला परियोजना संयोजक रोजलिनले भन्नुभयो, “विवाह यता नै श्रीमानले त्यस्तो यौन दुर्व्यवहार गर्दै आए पनि उमेरका कारण सह्य नभएपछि मात्र उहाँले मुख खोल्नुभयो । हामीले उहाँको स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शमा ध्यान केन्द्रित ग¥यौँ ।”

सुरक्षित आवासको दुई महिने बसाइपछि अदालत जाने बेलामा उहाँ (महिला)लाई लोग्ने र छोराहरूले राम्रो व्यवहार गर्ने आश्वासन दिएर घर फर्काएका हुन् । हजुरआमा भइसकेको बेला घरपरिवारसँग छुट्टिएर नबस्ने मनोविज्ञान उहाँभित्र पनि रहेको र त्यसकारण पनि कानुनी उपचारको प्रक्रियामा जान अनिच्छुक बन्नुभएको रोजलिनको बुझाइ छ । आरम्भमा उहाँले वैवाहिक बलात्कारलगायत मुद्दा दिने तयारी थाल्नुभएको थियो । ती महिलाका विषयमा आफूहरूले निरन्तर जानकारी लिइरहेको रोजलिनले बताउनुभयो । 

अधिवक्ता रेखा झाले कानुनले नै वैवाहिक बलात्कारको परिभाषा गरिदिएको भन्दै यस मुद्दामा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद हुने जानकारी दिनुभयो । ओरेकको सुरक्षित आवासमा महिनामा हिंसा पीडित सरदर १० महिला, किशोरी र बालिका आउने गरेका छन् । यहाँ स्थित आवासमा तीन महिनासम्म बास दिने व्यवस्था भए पनि कतिपय अवस्थामा यो समय लामो हुने गर्दछ ।

ओरेकका जिल्ला परियोजना संयोजक रोजलिनले मानसिक र शारीरिक रूपमा अत्यन्त अशक्त (रुने, कराउने वा विशेष क्षमताको) बाहेक सबै किसिमका हिंसापीडित महिलालाई आवासमा आश्रय दिने गरिएको जानकारी दिनुभयो । ओरेकको सुरक्षित आवासमा कुटपिट, घर निकाला, दाइजो, चरित्रमाथि प्रश्न उठाएर हुने विग्रह तथा जबरजस्ती करणीलगायतका उत्पीडनका महिलाले आश्रय पाइरहेका छन् ।