• १७ कात्तिक २०८२, सोमबार

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

blog

वीरगञ्ज (पर्सा),  कात्तिक १७ गते ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व  दुवैमा वृद्धि भएको जानकारी दिनुभयो । 

जबकी गत आवको तीन महिनामा भने रु छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो । 

चालु आवको तीन महिनामा रु तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । 

त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने रु दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा  रु ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यानको आयात भएको छ । 

ती सवारीसाधनको आयातबाट रु एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने रु ७६ करोड ५८ लाख मूल्य पर्ने चार सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने रु एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो । 

चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ । 

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । रासस