• १७ कात्तिक २०८२, सोमबार

पक्की घर पाएपछि मुसहर समुदाय खुसी

blog

लहान–१३ पक्की टोलको मुसहर समुदायको लागि निर्माण गरि दिएको पक्की र रङ्गीन घर । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक १७ गते । लहान–१३ पक्की टोलका मुसहर समुदायको बस्ती टाढैबाट चम्किरहेको देखिन्छ । फुसको घरमा वर्षातको बेला जसोतसो गुजारा गर्ने मुसहर समुदायको फुसको घरमा ढोका पनि हुँदैन्थ्यो । लहान नगरपालिका र ह्याविटेत नेपालले बीस घर मुसहर समुदायलाई प्रति व्यक्ति दुई कोठा र एक शौचालयसहित पक्की र रङ्गीन घर निर्माण गरिदिएपछि त्यस बस्तीको रौनकता मुसहर समुदायको अनुहारमा बेग्लै खुसी देखिएका छन् । 

पक्की टोलकी सुमिन्त्रा सदाय हर्षित मुद्रामा भन्नुहुन्छ, ‘‘पक्की र रङ्गीन घर निर्माण भएपछि पक्की टोलको मुसहर समुदायप्रति हेर्ने अन्य समुदायको दृष्टिकोण नै फेरिएको छ । घर भएपछि भर भयो । ढुक्क भएर मजदुरी गरेर गुजारा गरिरहेका छौं । मुसहर समुदायको पनि पक्की रङ्गीन घर होला भने सोचेका पनि थिएनौँ । अहिले घरले हैसियत र खुसी दुबै दिएको छ ।’’

७० प्रतिशत लहान नगरपालिका र ३० प्रतिशत ह्याविटेत नेपालको सहयोगमा इँटा र बाँस मिलाएर लहान नगरपालिका १३ नम्बर वडासहित १२ र १५ नम्बर गरी १३८ मुसहर समुदायको सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिएको छ । 

भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोगमा निर्माण भइरहेको मुसहर समुदायको घर तीस वर्षसम्म टिक्ने इन्जिनियर रामसुन्दर यादवले बताउनुभयो । स्थानीय स्रोत साधनको प्रयोग गरी बनाएको वातावरण मैत्री घर निर्माण कार्य लहान नगरपालिकाको मुसहर समुदायको सघन बस्तीमा निर्माण कार्य लहान नगरपालिकाले प्रत्येक वर्ष एक करोड विनियोजन गरेर यस कार्यलाई निरन्तरता दिइरहेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । 

‘केवल भौतिक विकास मात्रै समग्र विकास नभएर सामाजिक न्याय र विपन्न समुदाय लक्षित कार्यक्रमलाई लहान नगरपालिकाले निरन्तरता दिइरहेको छ । लहान वडा नम्बर १ र २ मा रहेको सयौ घर मुसहर समुदायको सुरक्षित बस्ती निर्माणको कार्य अघि बढाइनेछ । लहान नगरपालिकामा मात्रै वीस हजारको हाराहारीमा दलित समुदायको जनसङ्ख्या रहेकोले बजेटले भ्याएसम्म काम गरिरहेका छौं,’’नगरप्रमुख चौधरीले प्रष्ट्याउनुभयो ।

मुसहर समुदायमा नागरिकताको समस्या ठूलो समस्या रहेकोले यो समस्या समाधान गर्नको लागि लहान नगरपालिकाले पहल गरिदिनुपर्ने दलित अगुवाहरुले माग गरिरहेकोले यस विषयमा समेत लहान नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर कार्य अघि बढाइने नगरप्रमुख चौधरीले विश्वास व्यक्त गर्नुभयो ।