• १७ वैशाख २०८२, बुधबार

उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जो। तस्बिरः उपराष्ट्रपति कार्यालय

काठमाडौँ, वैशाख १६ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा  द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। 

उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (इयु) बिच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो। “नेपाल र इयुबिचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “इयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ।” 

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उहाँले कर्णाली प्रदेशमा इयुको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्‍याएको बताउनुभयो। 

‘सगरमाथा संवाद’ को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौँमा हुने जानकारी गराउनुभयो। 

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो। “युरोपेली सङ्घ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ”, उहाँले भन्नुभयो। राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा इयु लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताउनुभयो।