केशबराज भट्ट
बैतडी, वैशाख १६ गते । बैतडीका दुई स्थानीय तहमा थप १२ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका र सूर्नया गाउँपालिकामा थप १२ जना क्षयरोगीका बिरामी फेला परेका हुन् ।
क्षयरोगमुक्त अभियानअन्तर्गत पुर्चौडी नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले बताउनुभयो ।
शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको एक्सरे गरिएको र शङ्कास्पद बिरामीहरूको खकार परीक्षण गरेर क्षयरोग भए नभएको पत्ता लगाइएको लेखकले बताउनुभयो ।
शङ्कास्पद बिरामीको खकार परीक्षण गर्दा थप ६ जनामा क्षयरोग पुष्टि भएको र उनीहरूलाई उपचारको दायरामा ल्याइएको लेखकले बताउनुभयो ।
यसअघि पुर्चौडीमा २१ जना क्षयरोगका बिरामी उपचाररत रहनुभएको छ । यस्तै, सूर्नया गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ जना क्षयरोगका बिरामी फेला परेका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताउनुभयो । यस्तै नयाँ बिरामीहरूलाई उपचारको दायरमा ल्याइसकेको उहाँले बताउनुभयो ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरूलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको सूर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो । बैतडीमा एक सय दुई जना क्षयरोगका बिरामी उपचाररत रहनुभएको छ । पुर्चौडी र सूर्नयामा १२ जना नयाँ बिरामी फेला परेपछि क्षयरोगीको सङ्ख्या एक सय १४ जना पुगेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी लेखकले बताउनुभयो ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरूलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।
लगातार दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षणहरू हुने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उहाँले बताउनुभयो ।
क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने गरेको छ, भने ६ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्णरूपमा निको हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो ।