• १६ वैशाख २०८२, मङ्गलबार

विद्यालय सञ्चालन गर्न मुसिकोटको निर्देशन

blog

गुल्मीको मुसिकोट नगरपालिका

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १६ गते ।
गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै मुसिकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको हो ।

शिक्षकहरूको विभिन्न मागसहित आन्दोलन जारी रहेको भएता पनि, छिमेकी जिल्लाका पालिका र गुल्मी जिल्लाकै पालिकाका धेरै विद्यालयहरुमा भर्ना, पठनपाठनका क्रियाकलापहरू सञ्चालन भइरहेको हुँदा यस नगरपालिकामा आजदेखि नियमित विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो ।

मुसिकोट नगरपालिकाले शिक्षकहरूको जायज र पूरा गर्न सकिने मागहरूका सन्दर्भमा सहमतिसहित आजसम्म सहयोग गरेको बताइएको छ । आज वैशाख १६ गतदेखि यहाँका विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालनसँगै जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

यस नगरपालिकाभित्र ६८ वटा सामुदायिक विद्यालय जसमा १६ वटा माध्यमिक विद्यालय, आठ वटा निम्न माध्यमिक विद्यालय र अन्य प्राथमिक विद्यालय रहेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको छ ।