सुजन काफ्ले
चरीकोट, वैशाख १५ गते । बागमती प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएको छ । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने सडक कालोपत्रे हुने भएको हो । तामाकोशी गाउँपालिका–१, भिरकोट हुँदै वैत्यश्वर गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखामार्फत दुई मुख्य सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको छ । पूर्वाधार कार्यालयले १६ करोड १० लाख रुपियाँको बजेटमा टेन्डर आह्वान गरेको हो ।
करिब तीन दशक पुरानो भिरकोट–झुले–छौडे सडक कालोपत्रे नहुँदा यातायात सञ्चालन गर्न असहज भएको थियो । सडक कालोपत्रे सम्पन्न भएपछि तामाकोशी वैत्यश्वर र जिरीका स्थानीयलाई आवागमन सहज हुने भएको छ । सो सडकको ठेक्का आह्वान भएपछि सडक कालोपत्रे हुनेमा आशावादी रहेको तामाकोशी गाउँपालिका–१, भिरकोटस्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सन्तोष कार्कीले बताउनुभयो । सडक निर्माण नहुँदा सार्वजनिक यातायातसमेत वैकल्पिक मार्गबाट चल्न थालेपछि स्थानीयले सास्ती बेहोर्नु परेको थियो । गाउँमा उत्पादन गरिएका तरकारी तथा फलफूल बजारसम्म पु¥याउन सहज हुने भन्दै स्थानीय खुसी भएका हुन् । प्रदेश सरकारकै लगानीमा सोही सडकको कालीदहबाट एक किलोमिटर सडक ढलान कार्य धमाधम भइरहेको छ ।
कार्यालयले मुडे–मेलुङ सडकको भैँसे–बुद्धचोक खण्ड कालोपत्रेका लागि १६ करोड १० लाख रुपियाँमा टेन्डर आह्वान गरेको छ । उच्च प्रविधिको कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताउनुभयो । सो सडकको पहिलो खण्ड मुडे–बाघखोर–कालापानी नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । दोलखाको मुख्य पर्यटकीय स्थल शैलुङ प्रवेश गर्ने सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक–मुडे हुँदै शैलुङ आवतजावत गर्न सहज हुने भएको छ । कार्यालयले जिरी–चेर्दुङ सडकको स्तरोन्नतिका लागि पनि पाँच करोड रुपियाँमा टेन्डर आह्वान गरेको छ ।
एक दर्जन सडक निर्माणाधीन
प्रदेश सरकारको लगानीमा दोलखामा दुई वटा सडक कालोपत्रे सम्पन्न भएका छन् । भौगोलिक रूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सुनखानी–साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सडक कालोपत्रे गरिएसँगै कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाबिच आवागमन सहज भएको छ । त्यसै गरी प्रदेश सरकारकै लगानीमा चरीकोट–देउराली करिब पाँच किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे भएपछि धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको हो ।
सोही सडक हुँदै देउरालीदेखि कालिञ्चोक पुग्ने बाँकी सडकखण्डको समेत निर्माण धमाधम भइरहेको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत दोलखाका करिब एक दर्जन ठुला सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।
दोलखाको वैत्यश्वर गाउँपालिका हुँदै गौरीशङ्कर गाउँपालिका जोड्ने मुख्य सडक सिद्धाको थान–जुँगु–झ्याँकु सडकमा स्तरोन्नति भइरहेको छ । लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ । सोही सडकखण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । चालु आवमा नै दोलखामा कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटक पटक ताकिता गरेर निर्माण सुरु गराएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नति र ढलान कार्य धमाधम भइरहेको छ ।”
पूर्वाधार विकास कार्यालय जिल्लामा नै स्थापना भएपछि दोलखामा सडक क्षेत्रको विकासले प्राथमिकता पाएको छ । कार्यालयको सव्रिmयता बढेसँगै लामो समय सडक निर्माण अलपत्र छोडेर बसेका निर्माण व्यवसायी काममा फर्किएका छन् ।
पटक पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नगर्ने व्यवसायी र फर्मलाई कालो सूचीमा राख्ने तथा कारबाहीको प्रव्रिmया अगाडि बढाउने योजना रहेको कार्यालय प्रमुख ओझाले बताउनुभयो । प्रदेश सरकारको लगानीमा सिँगटी–लादुक–बुलुङ सडक निर्माण भइरहेको छ । त्यसै गरी प्रदेश सरकारकै लगानीमा दुई वटा पुल निर्माण सम्पन्न र बाँकी तीन वटा पुल निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर टङ्क तिवारीले बताउनुभयो ।
गौरीशङ्कर गाउँपालिकामा २५ मिटर लामो तिनेखु पुल र जिरी नगरपालिका–१ मा २५ मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । साथै जिल्लाका विभिन्न स्थानमा २५ मिटर लम्बाइका तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सडकलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । उहाँले निर्माणमा अघि बढेको भन्दै सङ्घीयतापछि जिल्लाबाट गुमेको कार्यालय चालु आवमा नै स्थापना भएको र कार्यालय स्थापनासँगै विकास निर्माणको काममा सहज भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका लागि प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गर्दै आएको मन्त्री काफ्लेले बताउनुभयो ।