टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक ११ गते । तिहार सकेपछि पाकेको धान स्याहार्ने चटारोमा किसान थिए । तर सोमबार बिहानबाट परेको पानीले किसानको धान खेतमै डुब्ने अवस्था बनेको छ ।
मुसिकोट नगरपालिका–२ का मानबहादुर खत्रीले धान काटेर खेतभरि थियो । धानकाटेपछि धुम्म बनेको आकाशबाट पानी पर्ने डरकैबिच तीन रात बिते । तर बिहानबाट ठुलो पानी परेपछि धान स्याहार्ने आशा हराएको खत्रीले गुनासो गर्नुभयो ।
उहाँले निस्ति फाँटमा १०/१५ मुरी हुने धान काट्नुभएको थियो । उहाँ बाहेक ३०/३५ घरले धान काटेर खेतभरि बनाएका छन् । मुसिकोट नगरपालिका–२ कै कर्ण रायमाझीको पनि निस्ति फाँटमा खेत छ । २२/२५ मुरी धान पाकेर पहेँलपुर भएकाले काट्ने योजनामा हुनुहुन्थ्यो । मौसम प्रतिकूल भएका कारण पर्खेका कारण केही भए पनि राहत भएको रायमाझीले बताउनुभयो ।
इस्मा गाउँपालिका–२ छल्दीटारीका पूर्ण श्रेष्ठको पनि ३५/४० मुरी धान हुन्छ । धान पाकेकाले काट्न खेतला खोजे पनि मौसमका कारण पर्खिएर बसेको बताउनुभयो । तर काटिसकेका केही किसानहरुको पानीले धान बर्बाद बनाएको श्रेष्ठले बताउनुभयो । उहाँले धान र पराल दुवैलाई असर गर्ने भएकाले पानीका कारण किसान चपेटामा परेको गुनासो गर्नुभयो । चौरासी जिल्लाको खेतीयोग्य फाँटहरुमध्येको एक हो । अधिकांश किसानहरुले तिहारपछि धान काटेर सुकाएका थिए ।
अहिले वर्षा भएपछि निकै पीडा महसुस गरेका छन् । इस्मा गाउँपालिका–६ का कृष्ण घिमिरेका तीन सय मुरीभन्दा बढी धान हुन्छ । १६० मुरी भित्र्याए पनि अझै आधा काम बाँकी थियो । तीन दिनदेखि मौसम प्रतिकूल भएकाले हतार–हतारमा उठाउन खोजे पनि धान, पराल र व्यवस्थापनमा पानीले ठुलो समस्या सृजना गरेको घिमिरेले बताउनुभयो । उहाँले वर्षा लम्बिए चौरासी फाँटमा सयौं मुरी धान काम नलाग्ने अवस्थामा पुग्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बर्सातले समग्र धान उत्पादनमा क्षति पुग्ने बताउनुभयो । उहाँले पाकेको र काटेकोलाई धेरै असर र फूल खेलेर तापक्रम खोजिरहेको धानलाई पनि वर्षाले असर गर्ने बताउनुभयो । गुल्मीमा गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो । सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।
गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाका लिम्घा, अस्लेवा, जुहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोट गाउँपालिकाका मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरुमा धान खेती हुने गरेको छ । मुसिकोट नगरपालिकाका तल्लाफाँट, ईन्द्रेगौंडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिगाड खोलाको आसपासका क्षेत्र धान खेती हुन्छ ।
मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिलादी, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्रमा धान रोप्ने गरिएको छ । यस्तै धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँटहरु, ईश्माको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान उत्पादन हुने गरेको छ । गुल्मीदरवारको गरमटारी, खर्ज्याङ घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खर्ज्याङ, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।