• १४ वैशाख २०८२, आइतबार

परिवर्तित बारपाक, देखिन छाडे मौलिक घर

blog

भूकम्पपछि पुनर्निर्माण भएर स्वरूप फेरिएको बारपाक गाउँ ।

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १४ गते । गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा ढुङ्गाले छाएका एकैनासका घर देखिन छाडेका छन् । २०७२ वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पका कारण बारपाकवासीले परम्परागत स्वरूपका घर गुमाउनु परेको हो । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण बारपाकमा विगत एक दशकको अवधिमा गाउँको पुरानो मौलिक सुन्दरता भने हराउँदै गएको सुलीकोट गाउँपालिका–१ वडाध्यक्ष धनबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्प गएको १० वर्षमा बारपाक घरसँग जोडिएका कलात्मक आकृतिसँगै भाषा र संस्कार पनि परिवर्तन हुँदै गएको  छ । पुराना घर विस्थापित भई नयाँ स्वरूप र संरचनाका घर निर्माण भएका छन् ।” भूकम्पअघि एकैनासका घरले धनी गरिबबिच विभेद थिएन तर अहिले बनेका ठुला भौतिक संरचनाले बारपाकको मुहार फेरिए पनि एकअर्काबिच दुरी बढ्दै गएको वडाध्यक्ष घले बताउनुहुन्छ । 

झन्डै एक हजार सात सय घर र १० हजार मानिस बस्दै आएको बारपाकमा ठुला ठुला भौतिक संरचना बन्दै जान थालेपछि मौलिक घर लोप हुने र एकअर्काबिच निकटता भने घट्दै गएको स्थानीय युवा कर्ण गुरुङले बताउनुभयो ।


ऐतिहासिक र रमणीय स्थल बारपाकमा परम्परा शैलीका घर पुनर्निर्माण हुन नसकेकोमा दुःख व्यक्त गर्दै घरका बाहिरी भागमा ढुङ्गा टाँसेर भए पनि बस्तीलाई एकरूपता दिने योजना भएकाले यसलाई लागु गरेर छाड्ने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले प्रतिबद्धता जाहेर गर्नुभएको छ । उहाँका अनुसार भौतिक संरचनामा फेरबदल आए पनि बारपाकको मौलिकता, रोधी, स्थानीय मकै, कोदो, गहुँ स्थानीय परिकार बारपाकको मुख्य विशेषता हुन् । बारपाकवासीले भूकम्पसँगै १० करोड रुपियाँको लागतमा खानेपानी आयोजना, सडक निर्माणले गति लिएको उहाँले बताउनुभयो । 

बारपाकमा भूकम्पकै कारण ७२ जनाले ज्यान गुमाएका थिए भने एक हजार चार सय घर भग्नावशेषमा परिणत भएका थिए । अहिले बारपाकमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको स्थानीय होटेल तथा होमस्टेमा घुइँचो लाग्ने गरेको छ ।