• १४ वैशाख २०८२, आइतबार

लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

blog

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख १४ गते । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा आउनुभएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो । 

सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् । 

मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये ५ जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, ५जनाको घरपझोङ–४ जोमसोममा र १ जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको थियो । मृतकको उमेर ६४ वर्षदेखि ८१ वर्षसम्मको रहेको तथ्याङकमा देखिन्छ । मृतकले ज्यान गुमाएका क्षेत्र तल्लो मुस्ताङमा पर्छ । मुस्ताङमा लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् । 

समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङटा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरू खानुपर्ने चिकित्सकको सुझाव छ ।