इमान सिं राना
रामपुर (पाल्पा), वैशाख १३ गते । निस्दी गाउँपालिका–२, सुकेकोटका बेनीसरा राना २०७२ वैशाख १२ गतेको दिन सम्झिँदा अझै पनि झस्किनुहुन्छ । त्यस दिन खाना खाएर घरबाट निस्किनु भएका उहाँ जब आँगनमा पुग्नुभएको थियो, आँखै अगाडि घर भत्कियो ।
उहाँ भन्नुहुन्छ, “गाउँमा साक्षरता कक्षा चलिरहेको थियो । १२ बजे कक्षा सञ्चालनका लागि हतार हतारमा निस्किएको थिएँ । आँगनमा पुग्न साथ भूकम्पले घरहरू हल्लिन सुरु भयो । हेर्दा हेर्दै घर ढल्यो । प्राय म कोठा मै हुन्थे । अन्य दिनमा हुन्थ्यो भने सायद म पनि रहने थिइन होला ।”
शुक्रबार भूकम्प गएको १० वर्ष पूरा भइसके पनि बेला बेलामा गइरहने भूकम्पले झस्काउने गरेको उहाँले बताउनुभयो । भूकम्प गइरहँदा विगतलाई सम्झिदा अझै पनि डर लाग्ने गरेको बताउनुभयो ।
सुकेकोट पाल्पामा भूकम्पले सबैभन्दा धेरै भौतिक क्षति गरेको स्थान हो । भूकम्पले मानविय क्षति नभए पनि वैशाख १२ र २९ गतेको भूकम्पले यहाँका घरहरू तहसनहस बनाएको थियो । सरकारको मापदण्ड अनुसार घर पुनर्निर्माण भए पनि भूकम्प गइरहँदा फेरि पनि भत्किने हो कि भन्ने डर कायम नै रहेको स्थानीय केशरी रानाले बताउनुभयो । “घर त बनेको छ । फेरि पनि भत्काउने पो होकी भन्ने डर लाग्छ ।,” उहाँले भन्नुभयो ।
भूकम्पले गाउँको तल्लो क्षेत्रमा झण्डै एक किलोमिटर जमिनको भाग फाटेको थियो । तल्लो भागमा जमिन चर्किएपछि सुकेकोटमा भूगर्भविद्हरूको टोली अध्ययनका लागि आएको थियो । तर अहिलेसम्म कुनै पनि प्रतिवेदन नआएको स्थानीय शिक्षक उमेशकुमार गाहाले बताउनुभयो ।
यहाँका ५६ मध्ये ४७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेको थियो । भूकम्प अघि गाउँमा परम्परागत कुँडले घरसँगै धेरै कोठासहितको अग्लाअग्ला घर रहेको थियो । पुनर्निर्माणपछि अघिकांश घर दुई कोठामा सिमित बनेको छ । भूकम्पपछि पुराना कुडलेघर र काठको बार्दलीसहितका घरहरू देख्न नपाइने अवस्था आएको स्थानीय तिलवीर रानाले जानकारी दिनुभयो । भूकम्प पश्चात गाउँभन्दा तल मसार, ढुस्यानी, गम्बारीमा बस्दै आएका स्थानीय बसाइँ सरेका छन् ।
पुनर्निर्माण प्राधिकरणमार्फत बनेका घरहरू दुई कोठाको मात्र हुँदा परिवार सङ्ख्या धेरै भएकाहरूका लागि सामान राख्न तथा पाहुना आएको समय समस्या हुने गरेको स्थानीय बताउँछन् । भूकम्पका कारण साविक सहलकोट–९ का ७९ घर मध्ये ५६ बढी घरहरू पुनर्निर्माण गर्नु पर्ने अवस्था आएको थियो । भूकम्प पश्चातको पुनर्निर्माणका लागि पाल्पामा चार हजार ६ सय ५२ लाभग्राही रहेका थिए ।