गुल्मी समाचारदाता
गुल्मी, वैशाख १३ गते । गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस वर्ष गुल्मीका कृषकहरूले ३०२ हेक्टर क्षेत्रफलमा चैते धान रोपेका छन् ।
अहिले चैते धान रोप्ने क्षेत्रफलमा ५.३२ प्रतिशतले कमी आएको हो । फागुनको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्तासम्म चैते धान रोप्ने गरेको पाइएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३५२ हेक्टर, आव २०७८/७९ मा ३५० हेक्टर, आव २०७९/८० मा ३४१ हेक्टर र आव २०८०/८१ मा ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ ।
चैते धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः बर्खे धानसमेत रोप्ने गरिन्छ । बसाइँसराइ र वैदेशिक रोजगारका कारण उत्पादन गर्ने जनशक्ति नहुँदा खेती गर्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनुभयो ।
पछिल्ला वर्ष हिउँदमा बर्सात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको छ । सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष एक हजार २२६.१२ मेट्रिक टनले उत्पादन बढ्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।
अहिले समयमा पानी परेको र उन्नत बिउका कारण उत्पादनमा वृद्धि आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
चैते धानका रूपमा स्थानीय मार्सी, सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ । हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, युएस ३१२ रोपिन्छ । यस जिल्लामा विशेष गरी स्थानीय हंसराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी खेती गरिन्छ ।