टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १२ गते । एउटा ढाकाको साडी बनाउँदा १५ दिन बित्छ । बिक्री भएमा पाँचदेखि १५ हजार आउने हो । तान र हातले काम गर्दा समय धेरै खर्च हुन्छ । तर, बलियो र गुणस्तरमा कुनै समस्या हुँदैन ।
मूल्य स्वाभाविक रूपमा हस्तकलाका सामग्रीको धेरै पर्छ । अहिले फेन्सी सामग्री बजारमा सस्तो मूल्यमा छ्याप्छ्याप्ती पाइन थालेपछि हस्तकलाका सामग्री बिक्न छाडेको व्यवसायीहरूको गुनासो छ ।
रेसुङ्गा नगरपालिका–८ की कमला भलाद्मी र रेसुङ्गा नगरपालिका–११ की सरस्वती पुनले दोस्रो गुल्मी महोत्सवमा हस्तकलाका सामग्री बिक्रीका लागि स्टलमा बसेको पाँच दिन भयो । ग्राहकले फर्केर पनि हेर्दैनन् । केहीले मूल्य सोध्छन्, सुनेपछि जिब्रो टोक्छन् ।
कमला सिलाइ–बुनाई तथा धागो उद्योगकी सञ्चालक कमला भलामीले शोभाका लागि मात्र आएजस्तो भएको बताउनुभयो । तानबाट ढाकाका मखलर, साडी, सल, टोपी, सुट, आसकोट लगायतका सामग्री निर्माण हुन्छन् ।
तीन–चार वटा महोत्सवमा सामग्री राखेपछि सन्तोषजनक बिक्री नभएको भलामीले बताउनुभयो । रेसुङ्गा नगरपालिका–११ की सरस्वती पुनका श्रीमान् नन्दबहादुर पुन भारतमा काम गर्नुहुन्छ । पुनले नौ–दस वर्षदेखि व्यावसायिक रूपमा तानका सामग्री उत्पादन गर्नुभएको छ ।
उहाँको कमाइले भाडा तिरेर घरखर्च थेगेकाले श्रीमानलाई सजिलो बनाएको छ । तर, समग्रमा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण नभएको सरस्वतीले बताउनुभयो । सबैैभन्दा धेरै सल बिक्री हुन्छ । हाफ सलको चार सय र ठुलो सलको एक हजार ५०० सम्म पर्छ । खादाको बिक्री भइरहेको छ ।
पुनले घरमै तान राखेर फुर्सदमा सामग्री उत्पादन गर्ने र पसलमा बिक्री गर्नुहुन्छ । जेकट मेसिनहरूले कम समयमा धेरै उत्पादन गर्न सकिने भएकाले ढाकाकै कपडाहरू पनि कम मूल्यका बजारमा आउन थालेकाले प्रविधिमा सहयोग र तालिमको आवश्यक रहेको पुनले बताउनुभयो । तारा बुनाई प्रशिक्षक केन्द्र सञ्चालन गर्नुभएकी तारा पन्थी ज्ञवालीले २०५६ सालबाट बुनाई र प्रशिक्षण दिने काम गर्नुहुन्छ ।
चँदुवा, गलबन्दी, सुइटर, टोपी, मजा लगायतका सामग्री महोत्सवका स्टलमा छन् । दिन बिताउने बाहेक केही नभएको ज्ञवालीको भनाइ छ । उहाँले सुरु–सुरुका महोत्सवमा २५–३० हजार कमाइ भए पनि पछिल्ला वर्षहरूमा घट्दै गएको बताउनुभयो । “पहिलेजस्तो मान्छेहरू पनि महोत्सवमा आउँदैनन् । हाम्रो व्यापार हुने पुस्ता पनि गाउँमा छैनन, उहाँले भन्नुभयो,“अहिले मोबाइल राख्ने झोला बाहेक केही बिकेन ।”
बजारमा रहेको मदाने गाउँपालिका–४ का ५४ वर्षीय श्यामबहादुर थापाले महोत्सवमा चार हजारका गर्मीका कपडा किनेर फर्किनुभयो । चार हजारमा आफु लगायत छोराछोरी र श्रीमतीलाई समेत गर्मीका कपडा पाइने भएकाले सस्तोका कारण सवैको फेन्सीमा आर्कषण रहेको थापाले बताउनुभयो ।
गुल्मी चेम्बर अफ कमर्सले वैशाख ५ गतेदेखि १७ गतेसम्म दोस्रो गुल्मी महोत्सव सञ्चालन गरिरहेको छ । महोत्सवमा करिव तीन सय विभिन्न किसिमका व्यापारिक स्टलहरू राखिएको छ । आयोजकले महोत्सव अवधीभर करिब ३० करोडको कारोबार हुने दाबी गरेको छ ।