• १२ वैशाख २०८२, शुक्रबार

बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले महासचिव शंकर पोखरेल । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १२ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ, बलियो शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरेको साँचो हो, तर मुलुकको हितमा एमाले समर्पित छ, डगमगाउँदैन’ उहाँले भन्नुभयो ।

विचार निर्माताहरू नै अहिले बाहिरको शक्तिबाट परिचालित रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “स्वतन्त्र विचार राख्ने र देश र जनताको पक्षमा विचार निर्माण गर्नेहरूको उपस्थिति कमजोर देखिएको छ, विदेशी सहयोगमा धेरै अनुसन्धानको काम हुनेगर्छ, हामीले चाहेजस्तो वैचारिक बहस हुन सकेको छैन ।”


राष्ट्रियता, विकास समृद्धि र सामाजिक न्यायको मुद्दामा एमालेकाे जति अब्बल अरू कुनै शक्ति मुलुकमा नरहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्रियता, मुलुकको सम्प्रभुता, आर्थिक समृद्धि र सामाजिक न्यायमा कसैसँग सम्झौता गर्दैनौं, त्यो हाम्रो मुद्दा हो ।”

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएपछि हौसिएका राजावादीहरूका कारण चैत १५ गते तीनकुनेमा घटना घटेको भन्दै उहाँले त्यसको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको स्पष्ट पार्नुभयो । 


अर्को प्रसङ्गमा महासचिव पोखरेलले भन्नुभयो, “कतिपयले भनिरहनुभएको छ, सरकारको नेतृत्व गरेको दलले पनि सडकमा प्रदर्शन गर्ने हो र ? तर मुलुकको लोकतन्त्र, राष्ट्रियता खतरामा पर्दा सत्तापक्ष पनि सडकमा आउन आवश्यक हुन्छ ।” एमाले कमजोर हुँदा मुलुक सङ्कटमा पर्ने उहाँले बताउनुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले समेत धारणा राख्नुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । 


सो अवसरमा महासचिव पोखरेल, स्थायी कमिटी सदस्य ढकाल, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभयो ।