• १२ वैशाख २०८२, शुक्रबार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख १२ गते । मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार टिप्परको ठक्करबाट सुनसरी जिल्लाको दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार विराटचोकबाट विराटनगरतर्फ गइरहेको ना. १ क. ६२७० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प. ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मियाको घटनास्थलमै मृत्यु भएको हो ।

मियाको मृत्युभएपछि स्थानीय आक्रोशित भएका छन् । मृतकको शव सडकमा राखेर  स्थानीय प्रदर्शनमा उत्रिएका छन् । स्थानीयले टिप्परको आगजनीको प्रयास समेत गरेका छन् । भाला, लाठीसहित प्रदर्शनमा उत्रिएको भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

प्रहरीले टिप्पर चालक पवन योन्जनलाई नियन्त्रणमा लिएको छ। स्थानीयले टिप्पर सडक कब्जा गरेर गुड्ने गरेको आरोप लगाएका छन् ।