• ४ पुस २०८२, शुक्रबार

चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण

blog

गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ६ स्थित चुच्चेढुङ्गा दारीमबोटमा खेत सिँचाइ गर्न निर्माण गरिएको पक्की कुलो । तस्बिर : जीत बहादुर नेपाली

गुणबहादुर रोका 
सुलीकोट, पुस ४ गते ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ६ ताकुकोटस्थित चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत साढे तीन लाख बजेटबाट निर्माण सम्पन्न भएको उक्त सिँचाइ कुलोले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

वर्षैदेखि प्रयाप्त सिँचाइ अभाब झैल्दै आएका यस क्षेत्रका किसानहरु कुलो निर्माणपछि उत्साहित देखिएका छन् । वर्षाको भर परेर खेती गर्न बाध्य किसानहरु अब नियमित रुपमा खेतमा पानी पु–याउन सक्ने भएका बारपाक सुलीकोट गाउँपालिकाका स्थानिय जनप्रतिनिधि जितबहादुर नेपालीले बताउनुभयो ।

कुलो निर्माणसँगै धान, मकै, गहुँ तथा तरकारी बालीको उत्पादन वृद्धि हुने विश्वास स्थानीय किसानहरुले गरेका छन् । स्थानीय किसानको उत्पादनमा वृद्धि भई आय आर्जनमा समेत सुधार गर्ने उदेश्यले सिँचाइ पूर्वाधारमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सिमित स्रोत साधनको बाबजुद पनि किसानको आवश्यकता पहिचान गरी योजना कार्यन्वयन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेले बताउनुभयो । उक्त क्षेत्रमा झण्डै एक सय ७ रोपनी क्षेत्रफल भएको खेतमा सिँचाइ सुविधा पुग्ने भएको बताइएको छ ।

सामान्य कुलोको भरपनि अत्यधिक मात्रा धान उत्पादन हुने खेती योग्य जमिन भएकाले पनि गाउँपालिकाले बजेट विनियोजन गरी चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइका लागि कुलो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

आगनमी दिनमा आवश्याकता र औचित्यको आधारमा थप सिँचाइ तथा कृषि प्रबर्धनका कार्यक्रम सञ्चालन गरिने पनि प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । गाउँपालिकाको प्रत्यक्ष निगरानीमा कुलो दिगो र सुरक्षित बनाउन गुणस्तरिय सामग्री प्रयोग गरिएको बताइएको छ ।

कुलो निर्माण सम्पन्न भएपछि सयौँ किसानहरुले गाउँपालिकालाई धन्यवाद दिँदै यस्तो प्रकारको विकास निर्माणका काम निरन्तर अघि बढ्नुपर्ने माग गरेका छन् । सिँचाइ सुविधा विस्तारसँगै बाझो जमिन सदुपयोग हुने र गाउँको कृषि अर्थतन्त्र सबल बन्दै जाने विश्वास गाउँपालिकाले लिइएको छ ।