• १२ वैशाख २०८२, शुक्रबार

जिल्ला प्रशासन कार्यालय रौतहटमा स्तनपान कक्ष स्थापना

blog

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), वैशाख १२ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै कार्यालय हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । 

लैङ्गिक विषयका मुद्दाहरू महत्त्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खडकाले बताउनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।

पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकालाई सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले बताउनुभयो  ।

दैनिक रूपमा प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने सेवाग्राहीको भिड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि सो माग सम्बोधन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।  

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन कार्यालयमा यो कार्यले कार्यालय र सेवाग्राही बिचको सम्बन्ध समेत थप सुमधुर हुने कार्यालयले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही आमाले  बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो ।