गुणबहादुर रोका
सुलीकोट, वैशाख १० गते । उत्तरी गोरखाको नामरुङमा पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण सुरु गरिएको छ । चुमनुब्री गाउँपालिका–४ वडा कार्यालयको १० लाख बजेटमा २ किलोमिटर लामो नामरुङ पदमार्ग निर्माणको काम सुरु गरिएको वडाध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पदमार्ग निर्माणले पर्यटकहरूलाई सहज बनाउने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माण अन्तर्गत हाल ढुङ्गा बिछ्याउने काम भइरहेको छ, वडाध्यक्ष पेमा ग्याल्पो लामाले भन्नुभयो, “मनास्लु पदमार्ग अन्तर्गत बाटोमा यात्रा गर्न पर्यटक तथा स्थानीयहरूलाई निकै कठिनाई भएकाले पनि वडा कार्यालयको आफ्नै बजेटमा पदमार्ग निर्माण गर्न लागिएको बताउनुभयो ।”
मनास्लु पदमार्गका लागि सबैभन्दा बढी नामरुङको बाटो भएर पर्यटक आवतजावत गर्ने भएकाले पनि नामरुङको २ किलोमिटर पदमार्ग चिप्लो, अप्ठ्यारो हुदाँ पर्यटकहरूलाई उक्त ठाउँमा सास्ती नै व्योर्होनु परेको थियो ।
सोहि पदमार्गमा ढुङ्गा बिछ्याइएपछि भने पर्यटक र स्थानीयहरुलाई धेरै सहज हुन्छ, वडाध्यक्ष पेमा ग्याल्पो लामाले भन्नुभयो, “नामरुङ पदमार्ग अन्तर्गत लार्के बजार स्वास्थ्य चौकी समेत जाने मुख्य बाटो भएकाले पनि पदमार्ग निर्माण गर्नु पर्ने बाध्यता भएको छ ।”
दैनिक सयाैँ पर्यटकहरू नामरुङ पदमार्ग भएर मनास्लु क्षेत्र पुग्ने गरेका छन् । मुख्यगरी पर्यटकलाई सहज रूपमा मनास्लु क्षेत्र प्रवेश गराउन नामरुङ पदमार्गले पर्यटकहरू सङ्ख्या बढ्ने देखिएको वडाध्यक्ष लामाले बताउनुभयो । अहिले पदमार्गको काम धमाधम भइरहेकाले पनि आर्थिक वर्षको मसान्त सम्म सम्पन्न हुने गरी पदमार्ग निर्माण कार्यले तिब्रता पाएको बताइएको छ ।