• १० वैशाख २०८२, बुधबार

पत्रकार मिश्रमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

blog

काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुर्व्यवहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भर्सना गरेको छ ।

प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरामा सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेको छ ।  

रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा आज जारी विज्ञप्तिमा, “पत्रकार मिश्रलाई यही वैशाख ९ गते मङ्गलबार दिउँसो कोलमोतेश्वर कागेश्वरी मनोहरा नगरपालिका-४ स्थित निर्माणाधीन सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले हस्तक्षेप गरी धाकधम्की दिएको तथा सङ्कलित तस्बिर हटाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, भनिएको छ ।

उक्त घटनाबाट पत्रकार मिश्रको मात्र नभई सम्पूर्ण पत्रकारहरूको मनोवैज्ञानिक र भावनात्मकरूपमा असर पुग्ने निष्कर्ष रहेको उल्लेख गर्दै प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले समाचार सङ्कलन तथा सम्प्रेणषमा खटिने पत्रकारलाई सुरक्षा दिँदै मनोबल बढाउनेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

महासङ्घले देश र जनताका पक्षमा अहोरात्र काम गरिरहेको श्रमजीवी सञ्चारकर्मीमाथि हुने यसकिसिमका दुर्व्यवहार एवं ज्यादतीका कारण सुरक्षा चुनौती थपएिको र नागरिकको अभिव्यक्ति तथा सूचनाको हकसम्बन्धी अधिकार हनन भएको निष्कर्षसहित आपत्ति व्यक्त गरेको छ । आमसञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार अन्त्य गर्न र अभिव्यक्ति तथा सूचनाको हकमाथिको अधिकार सङ्कुचन हुन नदिन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दैै पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न अध्यक्ष सापकोटाले जोडदार माग गर्नुभएको छ । रासस