• १० वैशाख २०८२, बुधबार

नवलपुरकाे जय श्री खोला पुल निर्माण सम्पन्न

blog

जय श्री खोला पुल ।

ज्ञानु पंगेनी

मध्यविन्दु, वैशाख १० गते । पूर्वाधार विकास कार्यालय नवलपुरले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माणको काम सम्पन्न गरेको छ । जसमध्ये ठुलो लागतको जय श्री खोला पुल निर्माण सम्पन्न भएको हो । 

६० मिटर लामो यस पुल निर्माण सम्पन्न भई अहिले सवारीसाधन आवतजावत गर्न सुरु भइसकेको छ । पुलमा अब रङ्गरोगन मात्रै बाँकी रहेको छ । गैँडाकोट वडा नम्बर ६ र ९ जोड्ने यस पुलको लागत ६ करोड ३८ लाख रुपियाँ रहेको छ । 

यसैगरी कावासोती डण्डाखोलामा सल्लो फर्सा घाट चिसापानी पुल निर्माण सम्पन्न भएको छ । ७१ मिटर लम्बाइको यो पुल पाँच करोड १६ लाख रुपियाँमा निर्माण सम्पन्न भएको हो भने मध्यविन्दु-१५ मा अवस्थित गडार खोलामा पनि पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । ४५ मिटर लामो यो पुल ६ करोड चार लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो । 

कार्यालय मार्फत थप तीन वटा मोटरेबल पुल निर्माणकै क्रममा रहेको छ । देवचुलीको बौलाहा खोला, बौदीकाली डेढगाउँको बौदीर खोला र गैडाकोटको जुत्ति खोलामा मोटरेवल पुल निर्माण कार्य भइरहेको कार्यालयका इन्जिनियर आशिष पोख्रेलले जानकारी दिनुभयो ।

इन्जिनियर पोख्रेलका अनुसार चालु आर्थिक वर्षमा कार्यालय काम गर्नुपर्ने योजनाको  सङ्ख्या १७५ वटा छन् । जसमध्ये १८ वटा योजना सम्पन्न भएका छन् । तीन वटा पुल र १५ वटा बाटोको योजना सम्पन्न भएको पोख्रेलले जानकारी दिनुभयो । बाटोका योजनाहरूमा सबैजसो साना खाले योजनाहरू सम्पन्न भएका छन् । कार्यालयले गण्डकी प्रदेश सरकारको प्रदेशकै गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्ड अन्तर्गत नवलपुरमा पर्ने डेढगाउँ –झ्यालबास सडक खण्डमा अहिले काम भइरहेको छ । 

यस सडक खण्डलाई तीन खण्डमा  विभाजन गरी काम भइरहेको पोख्रेलले बताउनुभयो । कुल ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा अहिले काम चलिरहेको छ । 

पहिलो खण्डमा १४ किलोमिटर मध्ये  ७ किलोमिटर पक्की ढलाई सहितको कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने दोस्रो खण्डमा चार किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। यस्तै तेस्रो खण्डमा चार किलोमिटर क्षेत्रमा ग्याभिन जाली र टेवा पर्खाल लगाउने काम  सम्पन्न भएको इन्जिनियर पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा कार्यालयलाई पुँजीगत खर्च तर्फ ७६ करोड६२ लाख रुपियाँ विनियोजन भएकोमा चैत मसान्तसम्म ३१ करोड ३५ लाख (४०.९१ प्रतिशत) रकम खर्च भएको छ ।