नवीनराज कुइँकेल
लमजुङ, वैशाख १० गते । केही वर्ष पहिला विद्यार्थी विद्यालय पुग्थे, किताब आइपुग्दैनथ्याे । अहिले किताब पहिले आइसक्यो, विद्यार्थी विद्यालय नै पुगेनन् ।
काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनका कारण यतिबेला विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । गाउँ तथा शहरमा रहेका विद्यालयहरु सुनसान छन् । नयाँ पोशाक, नयाँ किताबकापी बोकेर विद्यालय जानुपर्ने बालबालिकाहरु गाइबस्तु चराउन र वनपाखामा खेल्न व्यस्त छन् ।
लमजुङमा तीन सय ४९ विद्यालय छन् । ती विद्यालयमा २०८० सालमा ३१ हजार छ सय ६७ विद्यार्थी अध्ययन गरेका थिए । यो वर्षपनि सोही सङ्ख्याका हाराहारीमा विद्यार्थीहरु नयाँ कक्षा भर्ना र अध्ययन गर्ने अनुमान शिक्षा विकास तथा समन्वय इकाई लमजुङको अनुमान छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र कक्षा सञ्चालन हुन नसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दिवाकर शर्माले बताउनुभयो ।
विसं २०६१ सालदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान शैक्षिक सत्र २०७५ मा राजनीतिक अभियानका रुपमा मनाइएको थियो । यसअघिका वर्षहरुमा पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन भर्ना अभियान सञ्चालन गर्ने गरिए पनि यसवर्ष भर्ना अभियान त परका कुरा कक्षा सञ्चालन नै हुन सकेका छैनन् ।
शिक्षक आन्दोलनकै कारण जिल्लामा आइपुगेका माध्यामिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिकाले जाँचकी पाउन सकेको छैन । उत्तरपुस्तिका जिल्ला आएको २२ दिन बितिसकेको छ । नियमित तीन हजार र ग्रेडवृद्धिको पाँच सय गरी तीन हजार पाँच सय विद्यार्थीका २५ हजार उत्तरपुस्तिका जिल्ला आएको शर्माले बताउनुभयो । “उत्तरपुस्तिका जाँच्नका लागि आवश्यक तयारी गरेका छौं । विषयगत प्याकिङ गर्ने र कोड राख्ने काम पनि सकिएको छ”, शर्माले भन्नुभयो, “अब उत्तरपुस्तिका जाँच्न शिक्षक पर्खिरहेका छौं ।”
शर्माका अनुसार एउटा विषयको उत्तरपुस्तिका जाँच गर्न सातदेखि दश जना शिक्षक आवश्यक पर्छ । जिल्ला आएका सबै उत्तरपुस्तिका जाँच गर्न ८० जना शिक्षक आवश्यक पर्ने उहाँले बताउनुभयो । उत्तर पुस्तिका जाँच हुन नसक्दा एसइई परीक्षाको नतिजा प्रकाशन समेत ढिलाइ हुने सरोकारवालाले बताएका छन् ।