टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १० गते । गुल्मीको इस्मा गाउँपालिका–४, कोटकोटेरी आगलागीले ध्वस्त भएको वैशाख ८ गते वर्ष दिन पुग्यो तर सोही गाउँका अग्निपीडित सुन्दरलाल विकको घर आधा मात्रै बनेको छ । बर्सात सुरु भएकाले सुन्दरलालको मन पनि आधा भएको छ किनकि वर्ष दिनमा आधा बनेको घर पनि बर्सातले भत्कने जोखिम छ । गत वर्ष आगलागीले विकको किराना र फेन्सी पसलसहित घरगोठ सबै जले । काम गरेर खाइरहेको मेसिन र पशुचौपायासमेत रहेनन् ।
नेता र सरकारका मान्छेको आश्वासनले बर्सातअगाडि नै राम्रो ओत पाउने आशा सुन्दरलालसहितका अग्निपीडितको थियो तर छिमेकमै बसेर वर्ष दिनसम्म बिते । निर्माण व्यवसायीले सरकारले पैसा नदिएका कारण घर अधकल्चो बनाएर छोडेका छन् । विकले भन्नुभयो, “नयाँ घरमा पहिलो तलामाथि झ्यालढोका पुरिएका छन् । खुला आशामुनि भएकाले ठुलो पानी परे भत्किने जोखिम बढ्यो । छिमेकी आए बसिरहेको घर पनि छोड्नुपर्ने बाध्यता छ ।” स्थानीय सरकारले दिने एक लाख रुपियाँबाट केही काम पनि भएको छ । पछि केन्द्रीय र प्रदेशको बजेट आएन । जसले पीडित परिवार झन् पीडामा परेका छन् । इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पालिकाका तर्फबाट पाउने रकम सबै परिवारले पाए पनि सङ्घ र प्रदेशको रकम माग गर्दै गाउँपालिकामा अग्निपीडित आएको बताउनुभयो ।
परियारले धेरै पटक पालिकाका तर्फबाट जनप्रतिनिधिले सङ्घ र प्रदेशको समेत ध्यानाकर्षण गराए पनि रकम नआएको बताउनुभयो । एकै दिन आगलागी भएको इस्मा गाउँपालिका–२, हस्तिचौरका अग्निपीडितको घर निर्माण भएका छन् तर निर्माण व्यवसायीले घर निर्माण गरेर बुझाए पनि सरकारले पैसा नदिएकाले मानसिक तनाव खेप्न परेको अग्निपीडित बताउँछन् । इस्मा गाउँपालिका–२ का अग्निपीडितका घर पनि निर्माण गरिएको छ तर किस्ता नआउँदा निर्माण व्यवसायी र पीडित परिवार चपेटामा छन् । निर्माण व्यवसायी केशव घर्तीले आफूले घर निर्माण गरेको २०/२२ लाख रुपियाँ पाउनुपर्नेमा सो रकम नआएपछि बाँकी परिवारका घरमा छाना राख्न नसकिएको बताउनुभयो ।
घर्तीले स्थानीय सरकारले पहिलो किस्ताको रकम दिए पनि सङ्घ र प्रदेशबाट रकम नआएपछि आफूहरू चल्ने अवस्था नै नरहेको बताउनुभयो । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिबाट पनि पटक पटक ताकिता गर्ने र केन्द्र तथा प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि रकम भुक्तानी नभएकाले आफूहरू पीडितको अगाडि अनुहार देखाउन सक्ने अवस्थामा नरहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनुभयो । इस्मामा मात्रै २०८१ वैशाख ८ को आगलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । २०८१ वैशाखमा इस्मासहित जिल्लाभर छ दर्जनभन्दा बढी घरगोठ जलेका थिए । अग्निपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख रुपियाँ पाउने व्यवस्था छ । त्यसमध्ये स्थानीय पालिकाले एक लाख र चार लाख रुपियाँ प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउनुपर्ने हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रदेशले केही रकम पठाएकाले सङ्घ सरकारसँग साढे १२ करोड रुपियाँ माग गरिएको बताउनुभयो ।