रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), वैशाख ९ गते । गुल्मीको मुसीकोट नगरपालिका–७, वामीनजिकै होटेल सञ्चालन गर्नुभएकी गङ्गादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती, मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला गरेको हो ।
जिल्ला अदालत गुल्मीका स्रेस्तेदार सुदर्शन खनालले जन्मकैद गरिएको जानकारी दिनुभयो । त्यस्तै डाँकाचोरी मुद्दामा तीनै जनालाई १०/१० वर्ष कैद र एक/एक लाख जरिबानाको फैसला भएको छ । उहाँले कसुर गर्ने तीन जनाबाट मृतकको जाहेरवालालाई एक/एक लाख क्षतिपूर्ति भराउने फैसला भएको बताउनुभयो । बागलुङ बडीगाड गाउँपालिका–२ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आउनुभएकी ५८ वर्षीय शेरचन २०७९ साल माघ १५ गते मृत फेला पर्नुभएको थियो ।
शेरचन आफ्नै घरभित्र हातखुट्टा र मुखमा टेप बाँधिएको अवस्थामा मृत फेला परेपछि हत्यामा संलग्नलाई पत्ता लगाउन प्रहरीले ठुलो चुनौती खेप्नु परेको थियो । अनुसन्धानकै क्रममा हत्यामा संलग्न धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङलाई २०७९ चैत २८, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्तीलाई २०७९ फागुन २२ र मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई २०७९ फागुन २३ गते पक्राउ गरेको थियो ।
सोही घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले दुई वर्षपछि २०८१ फागुन २७ गते काठमाडौँबाट पक्राउ गरेको छ । तामाङका अरू धेरै मुद्दा भएकाले जिल्ला नआइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।