• ९ वैशाख २०८२, मङ्गलबार

दिवारगाउँ ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख ९ गते । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका अवसरमा दिवारगाउँको तल्लो बस्तीलाई खानेपानीमन्त्री प्रदीप यादवले पूर्ण सरसफाइउन्मुख गाउँ घोषणा गर्नुभएको हो । 

‘एक घर एक धारा’ र ‘एक घर एक सुधारिएको शौचालय’ को पहुँच सबै घरमा पुगेकाले बस्तीलाई पूर्ण सरसफाइउन्मुख घोषणा गरिएको हो । दिवारगाउँको तल्लो बस्तीका ७० घरधुरीमा साबुनपानीले हात धुने कार्यलाई अभियानकै रूपमा अगाडि बढाइएको छ । सुस्वा परियोजना र हिमा गाउँपालिकाको लगानीमा हिमाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । हालसम्म करिब १२ सयभन्दा बढी घरधुरीमा एक घर र एक धारा पुगिसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताउनुभयो । 

विभिन्न सूचक पूरा गर्दै जुम्लाको पहिलो बस्तीका रूपमा दिवारगाउँको तल्लो बस्ती घोषणा हुनु खुसीको कुरा भएको उहाँले जनाउनुभयो । सुगमका बस्ती पूर्ण सरसफाइउन्मुख घोषणा हुन नसकेको अवस्थामा जुम्लाका बस्ती पूर्ण सरसफाइउन्मुख घोषणा हुनु सकारात्मक भएको उहाँको भनाइ छ । दिवारगाउँ तल्लो बस्तीका ७० घरधुरीमा एक घर, एक धारा, शौचालयमा पहुँच पुग्नुका साथै निर्धारित सबै सूचक पूरा गरेपछि जिल्लाको पहिलो बस्तीका रूपमा पूर्ण सरसफाइउन्मुख बस्ती घोषणा गरिएको हिमा गाउँपालिकाका वास संयोजक सुमिता शाहीले बताउनुभयो । उहाँका अनुसार हिमाले सबै बस्तीमा स्वच्छ पानी धारा पुर्‍याउने सोच राखेको छ । 

खानेपानी, सरसफाइ, स्वच्छता र मर्यादित महिनावारी व्यवस्थापनका लागि अभियानात्मक क्रियाकलाप सञ्चालन गर्न पालिकाको विकास बजेटको कम्तीमा १० प्रतिशत बजेट वार्षिक रूपमा विनियोजन गरिने भएको छ । यस्तै खानेपानी, सरसफाइ तथा स्वच्छता एकाइलाई स्थायी शाखाका रूपमा स्थापना गरिने गाउँपालिकाले जनाएको छ ।