गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना गर्यो । दुई छिमेकी नेपाल–चीनबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव र चीनमा नेपाल भ्रमण वर्ष २०२५ का अवसर पारेर चीनमा नेपालको पाककला सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।
सो क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणाले भिडियो सन्देशमार्फत नेपालको जीवन्त र विविध पाककला सम्पदाबारे चर्चा गर्दै विश्वभरका मानिसलाई नेपाली खाद्य संस्कृतिको प्रत्यक्ष अनुभव लिन नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।
चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य क्षेत्रभन्दा अद्वितीय र प्रामाणिक मानिने नेपाली खानाको समृद्धिबारे वर्णन गर्नुभयो । साथै उहाँले सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुभयो ।
विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष सु पेङले चीनमा नेपाली खानाको प्रवर्धनको प्रयासको प्रशंसा गर्दै नेपाली खाना र यसको स्थानीय चलन अनुभव गर्न सुझाव दिनुभयो । त्यस्तै चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगबिचको सहकार्यलाई सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले यात्रुहरूलाई नेपाली परिकारको स्वाद लिन नेपाली खानाको प्रवर्धन गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्माले नेपाली खाद्य संस्कृतिलाई जोड दिँदै नेपाललाई आकर्षक पर्यटन गन्तव्य बनाउनुपर्ने सुझाउनुभयो ।
महोत्सवमा नेपाली मौलिक खाना सेलरोटी, मम, योमरी, जुजु धौ, कागुनको खिर, चतामरी, चोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलुलगायतका परिकार प्रस्तुत गरिएको थियो । यसका साथै कार्यक्रममा थाङ्का, विधायी, पस्मिना, गायन कचौरा, गलैँचा, मौलिक गहगहना आदि जस्ता विभिन्न नेपाली हस्तकलाका वस्तु, नेपाली चिया तथा पानी प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा नेपाली सांस्कृतिक प्रदर्शन पनि गरिएको थियो ।
कार्यक्रममा चिनियाँ सरकारी उच्च अधिकारी, बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलङ्का र पानामाका राजदूतसहित कूटनीतिक समुदाय, विश्व पर्यटन गठबन्धनका सदस्य, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज, ट्राभल एन्ड टुर कम्पनीहरू, नेपाली र चिनियाँ समुदायहरू र मिडियालगायत चार सयभन्दा बढी सहभागी हुनुभएको जनाइएको छ ।