• ९ वैशाख २०८२, मङ्गलबार

हराउँदै धर्मघडा संस्कृति, बिरानो बन्दै चौतारी

blog

बेँसीसहर–११, चिती तिलहारका ऋषिराज दवाडी दम्पतीले चौतारामा राखेको पानी ।

नवीनराज कुइँकेल 

लमजुङ, वैशाख ९ गते । “उकाली–ओराली, मेलापात र घाँसदाउरा गर्दा चौतारीमा टुसुक्क बसिन्थ्यो । त्यतिबेला ठाउँ ठाउँमा चौतारी हुन्थे, त्यहाँ बसेर थाकेका यात्रु आराम गर्थे,” बेँसीसहर–११, चितिका ऋषिराज दवाडीले पुराना दिनको सम्झना गर्नुभयो ।

अहिले सडक सञ्जालको विस्तार भयो । गाउँघरसम्म गाडी पुगे । बिस्तारै पुराना बाटोहरूमा झार उम्रिन थाले । चौतारी भत्किए । चौतारीमा प्यास मेटाउन राखेका घैँटाहरू पनि हराए । “गाउँबेँसी गर्दा बरपिपल चौतारीमा भारी बिसाएर सुस्केरा हाल्थ्यौँ । थकाइ मेटाउँदै पसिना पुछ्थ्यौँ । घैँटामा राखेको चिसो पानी पिउँथ्यौँ,” मस्र्याङ्दी गाउँपालिका–९, टारगाउँका ८० वर्षीय उमाकान्त गौतमले भन्नुभयो, “अहिले मोटरबाटो बने, पुरानो बाटो हिँड्न छाडियो, चौतारी पनि बिरानो बन्दै गए ।” 

उहाँका अनुसार पहिले धेरै मानिस गाउँमै बस्थे । मोटरबाटो, गाडीको सुविधा थिएन । पैदलै हिँडेर गाउँबेँसी, मेलापात उकाली–ओराली गरिन्थ्यो । बाटो हिँड्ने बटुवा, गाईवस्तु चराउने गोठालालाई लक्षित गर्दै चैत, वैशाख महिनामा चौतारीमा माटोको घैँटोमा चिसो पानी राखिन्थ्यो । वैशाखमा प्रतिष्ठा गरिएका चौतारी (विधिवत् रूपमा बरपिपलको विवाह गरिएको) मा माटोको घैँटामा चिसो पानी राखिएको हुन्थ्यो । पानी पिउनका लागि कतै बाँसको डुङ्ग्रो त कहीँकतै अम्खोरा राखिएको हुन्थ्यो । यस परम्परालाई ‘धर्मघडा’ भन्ने गरिन्छ । कहीँकतै यस परम्परालाई ‘धर्मशाला’ पनि भन्ने गरिन्छ । यो नेपाली मौलिक संस्कृति पनि हो ।

बेँसीसहर–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राख्नुभएको छ । “आजभोलि गाउँघरमा पुरानो संस्कार र संस्कृति हराउँदै गयो । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको छु,” दवाडीले भन्नुभयो, “बाटो हिँड्ने बटुवा खुसी भएर खाने गर्नुभएको छ ।” 

नेपाली समाजमा वैशाखमा चौतारीमा ‘धर्मघडा’ राख्दा पुण्य मिल्ने धार्मिक विश्वास छ । यसरी चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्मघडा’ राख्ने चलन हराउँदै गएको छ । 

पछिल्लो समय गाउँ छाडेर सहरबजारमा बस्नेको सङ्ख्या बढ्दो छ । “गाउँमा मान्छे बस्नै छाडे । त्यहीँमाथि अहिले त गाउँ गाउँमा बाटो पुगेको छ । मानिस बढी मात्रामा गाडीबाटै आवतजावत गर्छन्, भोटेओडारकी धनमाया थापाले भन्नुभयो, “त्यसैले अहिले त यो चलन हराउँदै गयो ।” उहाँका अनुसार वैशाख महिनाभर चौतारीमा ‘धर्मघडा’ राख्ने चलन छ । वैशाख अक्षय तृतीयाका दिन ‘धर्मघडा’ राखिएको चौतारीमा खुदोपानी, जौको सातु खुवाउने चलनसमेत छ । गाडीको सुविधाले छुटिएका छन् देउराली अनि भन्ज्याङहरू । यातायात सुविधाले चौतारीमा बसेर सुस्ताउने फुर्सद पो कसलाई छ र ? फ्रिजमा राखेको चिसो पेय उपलब्ध हुन्जेल चौतारीमा कसले पो राख्छ र घैँटोमा चिसो पानी ?

संरक्षण हुन सकेनन् चौतारी

मानिसको बसोबास कम रहेकाले गाउँघरमा रहेका चौतारीको पनि संरक्षण हुन नसकेको मध्यनेपाल–७, इशानेश्वरका रामचन्द्र शास्त्रीले बताउनुभयो । “वैशाखमा बरपिपल चौतारीमा घैँटामा पानी राख्ने चलन मात्र होइन, भएका चौतारीको पनि संरक्षण हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार विगतमा गाउँघरमा मानिसको बसोबास बढी हुन्थ्यो । गाउँघरमा हुने भेला, बैठक पनि चौतारीमै बस्ने चलन थियो । गाउँले जमघट भई दुःख सुख आपसमा बाँड्ने स्थान नै चौतारी हुने गर्दथ्यो । स्थानीयले चौतारीको सरसफाइ, संरक्षणमा उत्तिकै ध्यान दिन्थे । 

“ऊ बेला गाउँघरका चौतारीको संरक्षण हुन्थ्यो । ठुला ठुला छपनी लगाएर चौतारी बनाइएको हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त भएका चौतारीको पनि संरक्षण हुन सकेको छैन । ठाउँ ठाउँमा भएका चौतारी पनि सिमेन्ट लगाएर बनाइएका छन् । यसले गर्दा मौलिकता गुमेको छ । गाउँघरमा नयाँ बरपिपल रोप्ने, हुर्काउनेको पनि सङ्ख्या निकै नै कम छ ।” लमजुङमा मात्रै होइन, सबैतिर उकालो ओरालो गर्दा चौतारीमा बस्ने चलन हराउँदै गएको छ ।