• ५ असोज २०८१, शनिबार

बुटवल धागो कारखाना अलपत्र

blog

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको बुटवल धागो कारखानाको मेसिन । तस्बिर : कपिल

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २४ गते । बुटवलको राजमार्ग चौराहाबाट साढे दुई किलोमिटर पूर्व लागेपछि बडेमानको भवनसँगै गेट देखिन्छ । मुख्य राजमार्गको छेउमै रहेको गेटमा प्रहरीको सुरक्षा कडा छ । भित्र जान सहजै दिइँदैन, सोधपुछ र नाम दर्ता गरेपछि भित्र प्रवेश अनुमति मिल्छ ।

गेटबाट भित्र पाइलाअघि बढेपछि मनमा प्रश्न उठ्छ कि भित्र कारखानामा त धमाधम काम भइरहेको होला, सयौँ कामदार काममा व्यस्त होलान् । धमाधम उत्पादन, प्याकेजिङ, बेन्डिङ, ब्रान्डिङ चलिरहकै हुनुपर्छ तर विडम्बना बाहिरको सुरक्षा र भित्रको हालत देख्दा मन अमिलो हुन्छ, ठूलाठूला मेसिनमा माकुराको जालो, फोहोर उस्तै, त्यसमाथि डरलाग्दो अँध्यारो । बुटवलसँग पहिचान जोडिएको नेपालमै इतिहास बुटवल धागो कारखानाको हालत यस्तो छ । 

नेपालगञ्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि हेटौँडामा कपडा उत्पादन गरी बजारमा पठाउने उद्देश्य बोकेर बुटवलमा वि.सं. २०३९ मा बुटवल धागो कारखाना स्थापना भएको हो । २०६४ देखि उत्पादन र २०६६ सालदेखि बुटवल धागो पूर्ण रूपमा नै बन्द छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यही कारखाना उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले बजेटमार्फत कारखाना उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी तथा सरोकारवालाको चासो धागो कारखानाले तानेको हो तर यसअघि पटकपटक आइरहेका बजेटमा पनि कारखाना चलाउने घोषणा गरेका सबैजसो सरकार कारखाना चलाउन असफल हुँदै आएका छन् ।

तत्कालीन राजा वीरेन्द्र शाहको अवधारणाअनुसार मुलकलाई आत्मनिर्भर बनाउन यो उद्योग स्थापना गरिएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको १७३ रोपनी क्षेत्रफलमा बुटवल धागो कारखाना फैलिएको छ । 

कम्पनीको अधिकृत पुँजी ६० करोड रुपियाँ, जारी ४५ करोड रुपियाँ र चुक्ता पुँजी साढे ३७ करोड रुपियाँ रहेको धागो कारखानाका निमित्त महाप्रबन्धक (प्राविधिक अधिकृत) डोलराज शर्माले बताउनुभयो । अब कारखाना सञ्चालनमा ल्याउन कम्तीमा पनि ६० करोड लाग्ने अनुमान उहाँको छ । 

शर्माले भन्नुभयो, “बजेटमा आउनु सकारात्मक छ तर यही अवस्थामा सञ्चालनको सम्भावना छैन । मेसिनलाई अपग्रेड गर्नुपर्छ, उत्पादन बढाउने किसिमले अघि बढ्नुपर्छ ।” उहाँले आफूलाई यसबारेमा अहिलेसम्म कुनै परिपत्र नआएको बताउनुभयो । कुनै बेला छ सय कर्मचारी प्रत्यक्ष कार्यरत रहेको कारखानामा अहिले बुटवलमा चार जना र काठमाडौँमा सम्पर्कका लागि एक जना गरी पाँच जना कर्मचारी मात्र छन् ।

कर्मचारीका लागि ४७ करोड २२ लाख 

कुनै बेला बुटवल धागो कारखाना भनेपछि बुटवलको मात्रै हैन, देशकै शान र पहिचानका रूपमा रहेको कारखानाको अवस्था अहिले अत्यन्तै दयनीय, कहालीलाग्दो र दुरवस्था छ । कुनै बेला यहाँ प्रत्यक्ष अप्रत्यक्ष गरेर सयौँले रोजगारी पाउँथे, बुटवलको विकासमा यो कोसेढुङ्गा नै मानिन्थ्यो । उद्योग बन्द भएपछि ४१६ कर्मचारीलाई तत्काल बिदा गरिएको थियो । त्यसका लागि ४७ करोड २२ लाख ४५ हजार रुपियाँ खर्चिएको थियो । 

बन्द हुदै खुल्दै भए पनि यसले २०६४ सालसम्म त केही उत्पादन दिन्थ्यो । केही समय राजनीतिक हस्तक्षेपले व्यवस्थापन बिग्रँदै गएपछि दलीय खिचातानी मात्रै भएन, कर्मचारीबीच हानाथाप भयो । कारखानाले सुरुवातमा दैनिक १० टनसम्म धागो उत्पादन गर्दथ्यो, भनेपछि सात टनसम्म धागो उत्पादन गरेको थियो । आखिर यो क्रमले बुटवल धागो अन्ततः २०६४ साल फागुनमा चुडिन पुग्यो अर्थात् बन्द नै भयो । २०६६ सालमा सरकार आफैँले कारखाना निरन्तर घाटामा गएको कारण बन्द भएको घोषणा ग-यो ।

लगानी कसको कति ?

बुटवल धागो कारखानामा नेपाल सरकारको ५९.७५ प्रतिशत, सर्वसाधारणको ८.३१ प्रतिशत र जनकपुर चुरोट कारखानाको ७.८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमाल सिमेन्टलगायतको सेयर लगानी छ । कारखाना लिमिटेडको कुल सम्पत्ति तत्कालीन अवस्थामा करिब १० करोडको मूल्याङ्कन गरिएको थियो ।

सरकारको मुख्य लगानी भनिए पनि कारखानामा रुपन्देहीका झन्डै सात सय जनाको पनि लगानी रहेको छ । २०४४/४५ सालतिर कारखाना निकै मुनाफामा जाँदा बुटवल तथा भैरहवाका व्यापारीले खुसीका साथमा सेयरमा लगानी गरेका थिए । कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीका ६९३ जना सर्वसाधारणको समेत त्यहाँ सेयर छ । कारखानामा चार हजार ६३० जनाको सेयर छ । त्यतिबेला सेयर राखेर मक्ख परेका व्यवसायी तथा सरोकारवालाको अहिले त्यतातिर खासै चासो पनि देखिँदैन, बजेटका बेला वर्षमा एक पटक चर्चा भने हुने गरेको छ ।बुटवल धागो कारखाना सञ्चालन गर्ने सरकारी निर्णयलाई बुटवलमा रहेका उद्योग तथा व्यापारिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले भने कार्यान्वयन र सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव पेस गरेका छन् ।

बन्द बुटवल धागो कारखाना २०७४ मा पनि सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले वैशाख १७ गते राजपत्रमा सूचना प्रकाशित ग-यो । बुटवल धागो र वीरगञ्ज चिनी कारखानालाई निजीकरण गर्दै भाडामा चलाउन दिने निर्णय २०७४ वैशाख १३ गते भएको हो । यी दुई उद्योग निजी क्षेत्रलाई भाडा दिएर चलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसको बारेमा उद्योगी व्यवसायीले धेरै संवाद र छलफल पनि गरेका थिए । 

यहाँ सबै सुरक्षाको जिम्मा प्रहरीकै छ । गेटमा प्रहरी नबस्दासम्म १६ जना कर्मचारी थिए । उनीहरूकै मुख्य काम नै सुरक्षा हो । गेटबाट भित्र जान जोकोही पाउँदैन । नाम लेखेर सोधेपछि बल्ल प्रहरीले पास दिएपछि भित्र जान सकिन्छ । धागो कारखानामा प्रहरीको दङ्गा नियन्त्रण गण बसेको छ । सो गणमा छ सयकोे दरबन्दी छ । एसपीको कमान्डमा रहेको गणले धागो कारखानाको सुरक्षा राम्रोसँग गरेको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सङ्घीय सरकारको बजेटमा धागो कारखाना सञ्चालनको कुरा समेटिनु सकारात्मक रहेको बताउँदै यसका लागि उद्योगी व्यवसायीसँग छलफल नै चलाउने बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूले निजी क्षेत्रलाई सञ्चालनको जिम्मा लगाए कारखाना सञ्चालन हुन सक्ने भए पनि विवादरहित भने नहुने बताउनुभयो । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले नयाँ उद्योगका रूपमा कारखाना चलाउनुपर्ने बताउनुभयो ।