• १७ कात्तिक २०८२, सोमबार

सल्यानमा अलपत्र विद्युतीकरणबारे मन्त्री घिसिङलाई ध्यानाकर्षण

blog

विद्युतीकरण कार्यलाई तत्काल अगाडि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 
सल्यान, कात्तिक १७ गते ।
सल्यानका विभिन्न स्थानमा लामो समयदेखि अलपत्र परेको विद्युतीकरण कार्यलाई तत्काल अगाडि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले काठमाडौँमा मन्त्री घिसिङलाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

ध्यानाकर्षण पत्रमा दार्मा गाउँपालिका र सल्यान जिल्लामा वर्षौंअघि सुरु भएका तर हालसम्म अधुरा रहेका विद्युतीकरणका काम तत्काल सम्पन्न गर्न माग गरिएको छ । गाउँपालिकाका विभिन्न बस्तीमा पोल गाड्ने र वायारिङसम्मको काम सम्पन्न भए पनि ट्रान्सफर्मर अभावका कारण विद्युत् आपूर्ति हुन नसकेको उल्लेख गर्दै आवश्यक सामग्री तत्काल उपलब्ध गराई बत्ती बाल्नुपर्ने माग गरिएको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार, विद्युतीकरणसँगै जिल्लाको पूर्ण विद्युतीकरण, सडक तथा अन्य पूर्वाधार विकासका योजना र भूकम्पपीडित क्षेत्रको पुनर्निर्माणबारे पनि ध्यानाकर्षण गराइएको छ ।

उहाँले भन्नुभयो, “यो विषय अत्यन्त गम्भीर छ । मन्त्रीज्यूले सल्यान र दार्माली जनताको विकासका मागलाई प्राथमिकतामा राख्नुपर्छ । ध्यानाकर्षणपछि सकारात्मक परिणाम आउने अपेक्षा गरेका छौँ ।”

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले हाल प्राधिकरणमा आवश्यक सामग्री अभाव रहेको जानकारी दिँदै विद्युत् नपुगेका क्षेत्रमा ठेक्का प्रक्रिया तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले कतिपय योजनामा बजेट अभावका कारण ढिलाइ भएको स्वीकार गर्दै जिल्लामा अलपत्र परेका योजनाहरू क्रमशः अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो । मन्त्री घिसिङले स्थानीय तह र सरोकारवालाको सहकार्यमा समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सल्यानका स्थानीय बासिन्दाले भने लामो समयदेखि पोल गाडिएर काम रोकिएको भन्दै निराशा व्यक्त गरेका छन् । वायारिङ सम्पन्न भई ट्रान्सफर्मर मात्र बाँकी हुँदा पनि वर्षौँदेखि अन्धकारमै बस्नुपरेको उनीहरूको गुनासो छ ।

दार्मा लगायत जिल्लाको विद्युतीकरण कार्य महाशक्ति–क्रिस्टल जेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको हो । तर कम्पनीले प्राविधिक कारण र प्रदेश कार्यालयसँग समन्वय अभाव देखाउँदै लामो समयदेखि काम रोकिरहेकाले कामले गति लिन नसकेको दार्मागाउँपालिका उपाध्यक्ष जुना मल्ल बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पटक–पटक अनुरोध गर्यौँ, सूचना जारी गर्यौँ, जिल्लाका सरोकारवालासँग बैठक पनि गर्यौँ, तर काम अघि बढेको छैन ।”

गाउँपालिकाले सम्बन्धित निकायहरूलाई तत्काल समन्वय गरी सल्यान जिल्लाको पूर्ण विद्युतीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

दार्मा गाउँपालिका–३ का स्थानीय सेतीराम रोकायाका अनुसार, “धेरै स्थानमा पोल गाडिए पनि तार र ट्रान्सफर्मर जडान नहुँदा ती पोलहरू जीर्ण बन्दै गएका छन् ।”

प्राधिकरणको केन्द्रीय कार्यालयले २०८० असोज ५ गते महाशक्ति–क्रिस्टल जेभीलाई १३ करोड रुपियाँ बराबरको ठेक्का दिएको थियो । पहिलो चरणमा काम सम्पन्न गर्न नसकेपछि २०८१ कात्तिक २९ गतेसम्म म्याद थप गरिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।