गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ७ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो ।
चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकोमा नौ महिनामा दुई लाख ७१ हजार मेट्रिक टन मल आयात भएको हो । रासायनिक मलका लागि चालु आवमा २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । पाँच लाख ५० हजार मेट्रिक टन मल टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नौ महिनामा एक लाख ६६ हजार ८३४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास आयात भएको छ । सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ४२ हजार ३६२ मेट्रिक टन र २९ हजार ३३० मेट्रिक टन साल्ट्र ट्रेडिङ कम्पनीले आयात गरेका छन् । हालसम्म तीन लाख छ हजार २०९ मेट्रिक टन मल वितरण गरिएको मन्त्रालयले जनाएको छ । ६१ हजार २५९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
साल्ट्र ट्रेडिङ ककर्पोरेसनले थप तीस हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ । ३३ हजार मेट्रिक डिएपी मल जेठको पहिलो हप्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ ककर्पोरेसनले मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मल वितरण हुने गर्छ ।
नेपालमा मुख्य गरी बर्खे र हिउँदे बालीमा मलको प्रयोग गरिन्छ । धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक उत्पादन भएको छ । यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।
मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफल मकै खेती गरिने र जसबाट २९ लाख ८० हजार मेट्रिक टन मकै उत्पादन हुने गर्छ । यस्तै सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र त्यसबाट २१ लाख मेट्रिक टन हाराहारीमा गहुँ उत्पादन हुने तथ्याङ्क छ । मुलुकभर वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने बताएको छ ।
सरकारले बर्सेनि मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ ।