• २३ असार २०८१, आइतबार

सभामुख र डेनिस प्रतिनिधिबीच भेटवार्ता

नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास

blog

काठमाडौं, जेठ १० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । 

संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा सोमबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनु भयो । उहाँले शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । 

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल, मानव विकास सूचकांकमा पाँचौं स्थानमा रहेको डेनमार्कका सकारात्मक कुराहरु हामी सिक्न चाहन्छौं ।’’

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डिआइपिडि) का कार्यकारी निर्देशक लिज्बेथ पिलेगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गर्नुभयो । 

उहाँले डेनमार्कको संसद्को संस्था डिआइपिडिले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको र नेपालमा बताउनुभयो । 

उहाँले डिआइपिडिले नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिनुभयो । समुद्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उहाँको भनाइ छ । प्रतिनिधिमण्डमा सहभागी डेनमार्कको सोसल लिबरल पार्टीकि नेत्री क्लारा हलभोर्सनले डेनमार्क नेपालका युवाहरुसँग काम गर्न इच्छुक रहेको बताउनु भयो ।