कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ५ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरी थरीका फूल ढकमक्क छन् ।
सडक किनारामा हरियाली उस्तै छ । बिचमा नगरको पहिचान दिलाउने रानीफूल (बेगमबेली) को सौन्दर्यले सो सडक भएर गुड्ने सवारीका यात्रु, पैदलयात्रु तथा स्थानीयलाई समेत आकर्षित गर्छ । अहिले बुटवल–नारायणगढ खण्डमा धुलोका कारण सास्ती भइरहेको बेला यो सडकको सौन्दर्यले भने सबैलाई सन्देश दिएको छ ।
सडकमा ढकमक्क फूल फुलेपछि त्यसको सौन्दर्यले राजमार्ग सुन्दर बन्दा सडक किनारका बासिन्दा पनि खुसी देखिन्छन् ।
ठाउँ ठाउँमा फूलसँगै बुद्धका मूर्ति छन् । सडकभरि बुद्धका मूर्ति राखिँदा लुम्बिनीमा बुद्ध जन्मिएका हुन् भन्ने पहिचान पनि देखाएको छ ।
‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ महाअभियानका व्रmममा नगरभित्रका सडकमा हालसम्म दुई लाखभन्दा बढी बहुगुणी फलफूल तथा वनस्पतिका बिरुवा लगाइएको छ ।
तिलोत्तमा नगरका सडकमा बेगमबेली, हमेलिया, कल्की, करविरका साथै विभिन्न फूल तथा आँप, बर, पिपल, स्वामीलगायतका बिरुवा पनि छन् । नगरपालिकाले सिटी फ्लावरका रूपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्न नगरवासीलाई आह्वान गरेको नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
तिलोत्तमा सडकखण्डको १३ किलोमिटर सडकमा २५ सयभन्दा बढी प्रजातिका विभिन्न फूलका बिरुवा लगाइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको भनाइ छ । फूलहरूमा नगरपालिकाले पानी राख्ने, काँटछाँट, गोडमेल गर्ने र मल राख्ने काम निरन्तर गर्दै आएको उहाँको भनाइ छ । तिलोत्तमाका १७ वटा वडामा ३४ सफाइकर्मी नियमित काममा हुन्छन् ।
जाली लगाएर घेरिएको डिभाइडर र कङ्व्रिmटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाहै्रमास हरियाली र मनमोहक बनाउने गरेको छ भने दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रात परेपछि थरी थरीका बत्तीको उज्यालोमा झिलिमिली देखिन्छ ।