काठमाडौँ, वैशाख ४ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला सङ्घका २० जना केन्द्रीय सदस्यको सामूहिक राजीनामाबारे छलफल हुने बताउनुभएको छ।
उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै सानोतिनो असन्तुष्टिका कारण त्यसो भएको हुनसक्ने बताउनुभएको हो।
प्रवक्ता महतले भन्नुभयो, “सानोतिनो कुरामा त्यो गर्छन्, यसबारे व्यवस्थापन भइहाल्छ। राजीनामा स्वीकृत हुँदैन, सानोतिनो असन्तुष्टि होला त्यो मिलिहाल्छ।”
उहाँले उक्त राजीनामा स्वीकृत नहुने बरु, यस विषयमा छलफल हुने बताउनुभयो। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला सङ्घका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिनुभएको थियो।
महिला सङ्घले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको, पटक–पटक व्यक्तिगत र सामूहिकरुपमा बैठक बसी निर्णय गरेर पारदर्शी तवरमा संगठनलाइ अघि लैजाने भनिएपनि सो कार्यान्वयन नभएको लगायतका असन्तुष्टि पेस गर्दै उनीहरुले नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल समक्ष सामूहिक राजीनामा पेस गरेका हुन्।
केन्द्रीय सदस्य चन्द्रादेवी जोशी, रिता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा। सिता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल र पार्वती आचार्यले हस्ताक्षरसहित राजीनामा पत्र पेस गर्नुभएको थियो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                