सन्तोष दहित
दाङ, वैशाख ४ गते । घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिनुभयो ।
बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेतेर थारू भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने उहाँले बताउनुभयो । समाजका लागि सञ्चार पैरवी नेपाल, थारू पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारू भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले यस अघि थारू भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो । २०७४ को स्थानि तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगर प्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराउनुभएको थियो ।
त्यसपछि घोराही उपमहानगरपालिकाले घोराहीमा थारू भाषामा पठन पाठन गराउने समेत निर्णय गराएको थियो । सूचना अधिकारी चौधरीका अनुसार घोराहीका केहि सामुदायिक विद्यालयमा थारू भाषामा पठनपाठन भइरहेको छ । “अहिले कक्षा १ सम्म थारू भाषामा पठनपाठन भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘कक्षा दुईको पाठ्यक्रममा निर्माण भइरहेको छ ।’’