साधन घर्ती
म्याग्दी (दरबाङ), वैशाख ४ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माणकार्य हालसम्म ७० प्रतिशत सम्पन्न भइसकेको छ ।
गाउँपालिकाका इन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनको हालसम्म ५२ प्रतिशत आर्थिक र ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
साझेदारी अनुसारको सङ्घीय सरकारले समयमै बजेट नपठाउँदा भवन निर्माणमा ढिलाइ भइरहेको छ । कूल लागत बजेट सात करोड ७१ लाख ८९ हजार ६६६ रुपियाँमध्ये हालसम्म निर्माण कम्पनीलाई चार करोड पाँच लाख रुपियाँ भुक्तानी भएको इन्जिनियर रावलले जानकारी दिनुभयो । वि.सं २०७९-०३-३ गते भवन बनाउन प्रतिष्ठा-जुम्ली-माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सम्झौता गरी निर्माण गरिरहेको छ ।
तीन तले भवनमा सभाहल सहित ३१ वटा कोठा तयार हुने छन् । सार्वजनिक शौचालय रहने भवनमा लिफ्ट पनि जडान गरिने छ । क्यान्टिन निर्माण सुरु भएको छ भने कम्पाउन्ड पर्खाल निर्माणकार्य केही समयमै सुचारु हुने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७६-७७ मा स्थानीयवासीले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
वि.सं.२०७४ साउनमा भएको विशेष गाउँसभामा बहुमतबाट घट्टेखोलामा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने निर्णय भएको थियो । भवन निर्माण भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
गत वर्ष नै भवन निर्माणकार्य सम्पन्न हुनुपर्नेमा सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा निर्माणमा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष पुनको भनाइ छ । हाल ३ नम्बर वडामा पर्ने तत्कालीन मुना गाविसको भवनमा तला र कोठा थप गरेर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ ।