रामकृष्ण बोहरा
बागलुङ, वैशाख ४ गते । चार वर्षअघि कालोपत्र र रङ्गरोगन गरेपछि चिटिक्क बनेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ । यहाँ जताततै फैलिएको काँसले गर्दा विमानस्थल नै कुरूप देखिन्छ ।
विमानस्थल सुरक्षार्थ लगाइएको तारबारमा खिया लागेकाे छ । पूर्वाधार बनेपछि आशावादी बनेका बागलुङवासी विमानस्थल मर्मत गरेको चार वर्ष गुज्रिँदा पनि जहाज कहिले चल्ने टुङ्गो नलाग्दा दिक्क र निराश छन् ।
२०२२ सालदेखि बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानको बलेवा विमानस्थलमा जहाजले उडान भर्न सुरु गरेका थिए । पोखरा–बागलुङ राजमार्ग बनेपछि २०५० सालपछि विमानस्थल बन्द भएको थियो । त्यतिबेला सातामा तीन दिनसम्म जहाजले उडान भर्दा पोखरा, भैरहवा र काठमाडौँका यात्रुहरूले यात्रा गर्थे । विमानस्थलबाट बागलुङ, पर्वत र म्याग्दीका जनताले हवाई सेवा पाएका थिए ।
चार वर्षअघि विमानस्थल कालोपत्रेपछि एक पटक पनि जहाजले उडान भरेका छैनन् । काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी २०७८ को वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । ३० मिटर चौडा र ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रेसहित १ हजार एक सय मिटर मैदान ग्राभेल गरिएको छ । टर्मिनल भवन समेत पुननिर्माण गरिएको छ ।
विमानस्थल सञ्चालन नहुँदा स्थानीय निराश बनेको बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । "करोडौं बजेट खर्चिएर बनेको विमानस्थल उपलब्धीविहीन बन्यो, बनेका संरचना पनि प्रयोग नहुँदै जीर्ण बने, जहाज कहिले चल्छ कसैलाई पत्तो छैन," खत्रीले भन्नुभयो, "विमानस्थल अहिले हेरालुको भरमा छ ।" विमानस्थल सञ्चालनका लागि मन्त्री र सांसदलाई पटकपटक जानकारी गराएपनि सुनुवाइ नभएको खत्रीले गुनासो गर्नुभयो ।
बन्द भएको २६ वर्षपछि २०७४ चैत ५ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । निवर्तमान नगर प्रमुख जनकराज पौडेलको पालामा नगरपालिकाले जहाजमा १२ सिटभन्दा कम यात्रु भएमा सिट भारवहन गर्नेगरी नेपाल एयरलाइन्स र तारा एयरसँग नियमित जहाज चलाउन सम्झौता गरेको थियो ।
यात्रु अभावमा नगरपालिकाले आर्थिक भार थेग्न नसकेपछि ३ महिनामै विमानस्थलमा उडान बन्द भएको थियो । नगरपालिकाले प्रारम्भिक चरणमा ६ महिनाको सम्झौता गरेर दुवै एयरलाइन्सलाई अग्रिम १०-१० लाख पेस्की समेत दिएको थियो भने केही समयका लागि जहाजका यात्रुलाई बागलुङ बजारदेखि विमानस्थलसम्म पुर्याउन निःशुल्क सुविधासमेत नगरपालिकाले गरेको थियो ।
सदरमुकाम बागलुङ बजारदेखि बलेवा तर्फको ८ किमी सडक कालोपत्रको तयारीमा छ । सडक सहज भएमा विमानस्थल सञ्चालनको प्रक्रिया अघि बढ्ने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । मालढुङ्गादेखि विमानस्थल सम्मको १० किमी सडक कालोपत्र गर्ने ठेक्काको काम भइरहेको छ । विमानस्थल चलाउन राज्यले पनि चसो दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
बागलुङ र ढोरपाटन शिकार आरक्षसँग जोडिएको सामरिक महत्त्वको विमानस्थल चलाउन नसक्नु नगरपालिकाको कमजोरी भएकाे नागरिक समाजका अगुवा अधिवक्ता राम शर्माकाे भनाइ छ । "विमानस्थल बनेपछि नागरिकको सुविधाका लागि त्यहाँ पुग्ने पूर्वाधार अविलम्ब बन्नुपर्थ्याे, तर राज्य र यहाँका स्थानीय सरकारको अर्कमण्यताले जहाज चल्न सकेन, मुस्ताङमा चल्ने बागलुङमा नचल्ने भन्ने हुँदैन," शर्माले थप्नुभयो, "बजारदेखि नजिकै रहेको विमानस्थल चलाउन नसक्नु नगरपालिकाको कमजोरी हो, यसले स्थानीय तह नागरिकप्रति संवेदनशिल छैनन् भन्ने देखाउँछ ।"