सिराज खान
नेपालगन्ज, वैशाख ४ गते । बाँकेको खजुरामा पहिलोपटक बृहत् साहित्य महोत्सव आयोजना गर्न लागिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान, खजुरा बाँकेको आयोजनामा खजुरामा वैशाख ५ र ६ गते खजुरा साहित्य महोत्सवको आयोजना गरिने खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले साहित्य र संस्कृतिको सम्वर्धन गर्ने उद्देश्यले महोत्सव तथा साहित्य सङ्गम तथा चिन्तन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. भण्डारीका अनुसार महोत्सवका मुख्य आकर्षणका रूपमा खजुरा प्रतिभा-२०८१ घोषणा, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रज्ञा प्रतिभा पुरस्कार वितरण र विचारपत्र–कार्यपत्र प्रस्तुत तथा छलफल कार्यक्रम रहेका छन् । उहाँले महोत्सवको कार्यक्रम अनुसार वैशाख ५ गते स्वागत र खजुरा प्रतिभा–२०८१ चयन तथा काव्य सङ्गम हुने जानकारी गराउँदै वैशाख ६ गते बिहान महोत्सवको उद्घाटन हुने बताउनुभयो ।
खजुरा साहित्य महोत्सवको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पश्चात विचारपत्र र कार्यपत्र प्रस्तुत हुनेछ । त्यसपछि खजुरा प्रज्ञा सम्मान-२०८१ वितरण, खजुरा प्रज्ञा सम्मान-२०८१, खजुरा प्रतिभा-२०८१ घोषणा, रचना वाचन, मायाको चिनो प्रदान गर्दै महोत्सवको समापन हुने खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.भण्डारीले बताउनुभयो ।
उहाँले थप्नुभयो, "खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा पहिलोपटक महोत्सव आयोजना हुँदैछ । त्यसको पूर्वतयारीमा हामी जुटेका छौँ । महोत्सव ५ र ६ गते हुने छ ।"
खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले खजुरा साहित्य महोत्सवमा पूर्वी इलामदेखि सुदूरपश्चिमको बझाङसम्मका कवि, लेखक र साहित्यकारहरूको उपस्थिति रहने जानकारी दिनुभयो । उहाँले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।