कल्पना खरेल
नवलपरासी पश्चिम, वैशाख ४ गते । नवलपरासी पश्चिम स्थित सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु गरेको छ । सार्वजनिक सम्पत्तिको सरंक्षण गर्ने उदेश्य सहित १०–१५ बर्षदेखि स्थानिय र विद्यालयले अतिक्रमण गरी भोगचलन गर्दै आएको सार्वजनिक जग्गाहरू खाली गराइएको हो ।
भरखर मात्र सरावल ७ बर्गदवामा रहेको जनता माध्यमिक विद्यालय भुजहवाले अतिक्रमण गरेको करिब २ बिघा जग्गा गाउँपालिकाले खाली गराएको छ । सो ठाउँमा तारबार गरी क्रिकेट स्टेडियम बनाउने योजनामा रहेको सरावल गाउँपालिकाको अध्यक्ष सुवाडि चौधरीले बताउनुभयो ।
मौका छोपेर अतिक्रमण गरी एकलौटी भोग चलन गर्दै आएको सार्वजनिक जग्गाको आफू निर्वाचित भएदेखि खोजपडताल गरी आवश्यक कानुनी प्रक्रिया पुरा गरेर खाली गराउने अभियान थालेको अध्यक्ष चौधरीको भनाई छ ।
यसअघि गाउँपालिकाले सरावल ५ धनगढवामा स्थानीयवासीद्धारा अतिक्रमण गरिएको २ बिघा सार्वजनिक जग्गा खालि गराई तारबार गरेको थियो । सो जग्गामा १५ शय्याको अस्पताल निर्माणका लागि नेपाल सरकारद्वारा पुर्जा समेत प्राप्त भएको छ । १८ करोड लागतमा उक्त अस्पताल निर्माण गर्नका लागि ठेक्का आव्हान समेत गरिएको सरावल गाउँपालिकाको अध्यक्ष सुखाडि चौधरीले बताउनुभयो ।
अतिक्रमित जग्गा खाली गराउन गाउँपालिकाले सबैभन्दा पहिला हदम्याद जारी गर्छ । हकदाबी पुग्ने भए हकदाबी पुर्याउने आधार प्रमाण माग्छ । पुगेन भने खाली गर्न म्याद दिइन्छ । म्याद नाघेपछि सुरक्षा निकायलाई समेत पत्राचार गरी जग्गा खाली गराउने मिति तोकेर सार्वजनिक सूचना निकालिन्छ । खाली गराएपछि ती जग्गा संरक्षणको लागि तत्कालै पर्खाल, ताल जाली लगाएर संरक्षण गर्ने कार्य गरिँदै आएको छ ।
अस्पताल निर्माण, खेलमैदान निर्माण, पार्क निर्माण, बाल उद्यान निर्माण, सार्वजनिक सौचालय निर्माण, मठमन्दिर निर्माण, बाटो विस्तार लगायतका विभिन्न सार्वजनिक कामकाजको लागि जङ्गा अभाव हुनेभएकोले यो अभियान चलाउँदै आएको हो । सरावल गाउँपालिकामा रहेका सार्वजनिक जग्गा खाली गराउने गाउँ सभाले नै म्यान्डेट दिएको छ । सार्वजनिक जागामा अतिक्रमित गरिएका बाटो समेत खालि गराई बाटो विस्तार गर्दै आएको गाउँपालिकाले हालसम्म १० बिघा सार्वजनिक जङ्गा खालि गराइसकेको छ । यसलाई निरन्तरता दिइने समेत सरावल गाउँपालिकाले बताएको छ ।