स्याङ्जा समाचारदाता
स्याङ्जा, वैशाख ४ गते । चुुलोचौकामा मात्र सीमित महिला पछिल्लो समय उद्यमशीलतातर्फ लागेका छन् । यहाँको चापाकोट–८, दद्रानका ५० जना महिलाको समूहले सहयोगी कृषि समूहमार्फत च्याउ खेती गर्न थालेका छन् । त्यसबाट महिलाले मनग्गे आम्दानी गरेर बचत गर्ने र आवश्यक काममा खर्च गर्न परिवारको मुख ताक्नुपर्ने अवस्था अन्त्यसमेत गरेका छन् ।
समूहको च्याउ खेती सोचेभन्दा राम्रो र बजारीकरणको समस्या पनि नहुुँदा घरायसी खर्चका लागि परिवारको आशामा बस्न नपरेको समूहका अध्यक्ष डिलमाया भट्टराईले बताउनुभयो ।
यहाँका महिला तीन वर्षदेखि समूहमा काम गर्दै आएका छन् । अन्य खेतीभन्दा सजिलो र छोटो समयमै मनग्गे आम्दानी हुुने भन्दै उनीहरूले पराले च्याउ खेती गरेका हुन् ।
दद्रानका महिला समूहलाई नेपाल शिक्षा वातावरण र स्वास्थ्य अन्तर्गत सञ्चालनमा रहेको नीम संस्थाले आवश्यक टनेल, बिउ तथा प्राविधिक सहयोगसमेत निःशुल्क दिएको छ ।
तीन रोपनी जग्गामा आठ वटा टनेल निर्माण गरी च्याउ खेती गरिएको छ । पराले च्याउ बिउ लगाएको २१ दिनदेखि एक महिनाको अवधिसम्म निरन्तर उत्पादन भइरहने भट्टराईले बताउनुभयो ।
महिला समूहले च्याउलाई प्रतिकेजी २५० रुपियाँमा बिक्री गर्दै आएका छन् । एक महिनाको अवधिमा चार लाख रुपियाँभन्दा बढीको च्याउ बिक्री गर्ने गरेका छन् ।