सिराज खान
नेपालगन्ज, वैशाख ३ गते । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ ।
नेपालगन्ज रङ्गशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रङ्गशाला सरसफाई, रङ्गरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका सबै काम पूरा भइसकेको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
उहाँका अनुसार टिकट बिक्री, पार्किङ ब्यबस्थापन, खेलाडीकालागि आवास ब्यबस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रङ्गशालासम्म यातायताको ब्यवस्थापन समेत गरिसकिएको छ ।
प्रतियोगितामा सहभागि हुने टिमहरु नेपालगन्ज पुग्ने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताउनुभयो । उहाँका अनुसार, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम नेपालगन्ज आइसकेको छ । नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अन्य टिमहरु पनि विहिबार नेपालगन्ज पुग्नेछन् ।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने छन ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुनलागेको प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार ५५५ रुपियाँ र उपविजेता टिमले दुई लाख ५० हजार रुपियाँ, ट्रफी, मेडल लगायतका पुरस्कार प्राप्त गर्ने मिडिया संयोजक गौतमले बताउनुभयो ।
लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजकको बिश्वास छ ।