• ६ वैशाख २०८२, शनिबार

वीरगन्ज घटना : दोषीमाथि कारबाही गर्न मुख्यमन्त्री सिंहको निर्देशन

blog

मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, वैशाख ३ गते ।
वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र हिंसात्मक घटनाप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले दुःख व्यक्त गर्नुहुँदै दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

बुधबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार घटनाबाट प्रभावित जनजीवनलाई सहज बनाउने र सामुदायिक सद्भावलाई कायम राख्ने दिशामा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।

विज्ञप्तिमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकताका आधारमा शान्ति कायम राख्न जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायबिच समन्वय आवश्यक रहेको बताइएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “साम्प्रदायिक विभेदका कुरूप, उपद्रवी र स्वार्थी मनोवृत्तिमा आधारित कुनै पनि गतिविधि सह्य नहुने भएकाले यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गरिने छ ।”

मुख्यमन्त्री सिंहले वीरगन्ज सहरलाई ऐतिहासिक, सांस्कृतिक र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा स्मरण गर्दै पछिल्लो घटनालाई दुःखद, हृदयविदारक र दुर्भाग्यपूर्ण बताएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वदलीय बैठकबाट पारित पाँचबुँदे सहमतिअनुसार प्रशासनलाई अझ बढी सक्रिय रहन निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।

मुख्यमन्त्रीले सबै नागरिकलाई आपसी विश्वास, संयमता र समझदारी कायम राखी सामाजिक सद्भाव सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।