काठमाडौँ, वैशाख ३ गते । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित पाकिस्तानी दूतावासले मङ्गलबार साँझ स्वागत समारोहको आयोजना गर्यो । उपराष्ट्रपति डा. रामसहायप्रसाद यादवले प्रमुख अतिथिको रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको पाकिस्तानी दूतावासले जनाएको छ ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तान दिवसको ऐतिहासिक महत्त्वलाई जोड दिँदै पाकिस्तान औपनिवेशिक अधीनताबाट मुक्तिदेखि गणतन्त्र निर्माणसम्मको यात्रा चर्चा गर्नुभयो । उहाँले पाकिस्तानका पुर्खालाई उच्च श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको साथमा उभिएको स्मरण गर्नुभयो ।
पाकिस्तान र नेपालले सौहार्दपूर्ण सम्बन्धको लाभ लिएको र सबल भाइचारा निर्माण गरेको उल्लेख गर्नुुहँदै उहाँले पाकिस्तान र नेपालले भूगोलदेखि सभ्यता सम्बन्धसम्म, हिमालयका चुचुरादेखि समृद्ध सम्पदासम्म र सांस्कृतिक समानताले दुई जनतालाई एकताबद्ध गर्ने अद्वितीय बन्धन निर्माण गरेको उल्लेख गर्नुभयो ।
राजदूत हाश्मीले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन, विपद् व्यवस्थापनमा विद्यमान सम्झौता, संयन्त्रहरू र सहकार्यमा निर्माणले आगामी वर्षहरूमा तालमेल र निकट सम्बन्ध ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पूर्व उपप्रधानमन्त्री सीपी मैनालीलगायत नागरिक समाज तथा व्यावसायिक क्षेत्रका नेताहरू, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदायको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानमा एक झलक शीर्षकमा पाकिस्तानको विविधता प्रदर्शन गर्ने फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो ।