नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख ३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषकहरू खुसी भएका छन् । कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पुल निर्माण गरिएको हो ।
जिल्लाको मटिहानी नगरपालिकाको वडानं. ८ मा रहेको बिग्ही नदीमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका जोडने गरी झोलुङ्गे पुल निर्माण भइ बुधबारदेखि सूचारु भएको छ । झोलुङ्गे पुल निर्माण भएपछि मटिहानी र धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिकाका कृषकहरूलाई फाइदा पुग्ने मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
मटिहानी र धनुषाको तुल्सीयाही जोड्ने क्षेत्रमा बनाइएको झोलुङ्गे पुल भएको क्षेत्र तरकारी खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेको छ ।
उहाँले मटिहानी बजारसँगै जोडिएको झोलुङ्गे पुलले गर्दा दुवै ठाउँका कृषकहरूलाई तरकारी, बजारजन्य उत्पादनहरू ल्याउन सहज र कम समय लाग्ने बताउनुहुँदै यसले महोत्तरी र धनुषा दुबै ठाउँका बासिन्दाहरूलाई फाइदा पुग्ने बताउनुभयो ।
बुधबार नगर प्रमुख मण्डलले सो पुलको उद्घाटन गर्नुहुँदै यसबाट पैदल, साइकल, मोटरसाइकल र टेम्पुमा बजारजन्य उत्पादनहरू बजारसम्म लग्न सुविधा र कम समय लाग्ने बताउनुभयो ।
मटिहानी र तुल्सियाही जोड्ने पक्की पुलबाट सरसामानहरू ल्याउन समय बढी लाग्ने भएकाले कृषकहरूलाई झोलुङ्गे पुल समयको बचत गराउने जनाइएको छ ।
करिब ४८ मिटर लम्बाइ र १.५ मिटर चौडाइ रहेको उक्त झोलुङ्गे पुल मटिहानी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा ७५ लाख १२ हजारको लागतमा निर्माण भएको जानकारी दिनुहुँदै उहाँले पालिका कृषकहरूका लागि मल, खाद्य, सरसामानहरू मात्रै वितरण नगरी कृषिजन्य उत्पादनहरू बजारसम्म लग्ने सहजतामा ध्यान दिने गरेको बताउनुभयो ।
झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मन्जुदेवी साह, वड़ाध्यक्षहरू जीतनारायण माझी, कलीम अंसारी, रितेश साह, कार्यपालिका सदस्यहरू अरुण नाहर, सुनेकेशी चौधरी, महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मोहन गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, लोसपाका मटिहानी नगरपालिका अध्यक्ष श्यामकुमार मण्डल, नेकपा एमालेका जगेश्वर खतवेसहितका स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।