काठमाडौँ, वैशाख ३ गते । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्धन गरिएको हो ।
परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् ।
भ्रमणले स्थानीय संस्कृती र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो ।
अप्रिल १३ तारिखका दिन काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो । भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाद्वारा अतिथिहरूको भव्य स्वागत गरिएको थियो ।
पाहुनाले सांस्कृतिक नृत्य, लोकसङ्गीत तथा आतिथ्य कार्यक्रमको मज्जा लिएका थिए भने हर्स राइडिङको विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो ।
अप्रिल १४ तारिखका दिन बिहान श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो भने अन्तु पोखरीमा माछा मार्ने र डुङ्गा सयर गर्ने गतिविधि भयो । त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरियो जसले इलामको चिया संस्कृतिको अनुभव प्रदान गर्यो ।
स्थानीय उत्पादन ‘चिज टेस्टिङ’ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरू सहभागी भएका थिए । उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखका दिन इलामसँग बिदाइ, भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फिर्ता भएको थियो । भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ ।